सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का महिलाहरुको अगुवाईमा मसला उद्योग स्थापना गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा भैरव महिला दिदीबहिनी कृषि सहकारी संस्थामा आवद्ध महिलाले अर्गानिक मसला उद्योग स्थापना गरेका हुन् ।
शुक्रवार वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनाल, पूर्व वडाअध्यक्ष एवं समाजसेवी कालुराम धौलाकोटीलगायतले सो उद्योगको उद्घाटन समेत गरेका छन् । सो क्रममा वडा अध्यक्ष खनालले उद्योग स्थापनासंगै उत्पादित मसलाहरुको बजारीकरणमा ध्यान दिनसुझाव दिनु भयाे । उहाँले आगामी दिनमा सीपयुक्त समूहहरुलाई वडा तथा नगरपालिकाबाट विभिन्न सहयोग हुने प्रतिवद्धता जनाउनु भयाे ।
सो अवसरमा पूर्व वडाअध्यक्ष कालुराम धौलाकोटी, भैरम सामुदायिक वनका अध्यक्ष अम्मरबहादुर कार्की, समाजसेवीहरु गोविन्दप्रसाद शर्मा, लोमन बुढा,
पूर्णा खड्का, टोल विकास संस्थाका पार्वती आचार्यलगायतले महिलाको अगुवाईमा संचालनमा आएको मसला उद्योगको सफलताको कामना गर्नु भएकाे थियाे ।
सहकारीका कोषाध्यक्ष सीता गौतमले उद्योग स्थापनाका लागि १ लख ७० हजार ६४२ रुपैयाँको आयव्यय सार्वजनिक गर्नु भयाे । नगरपालिकाबाट एक लाख ३८ हजार र सहकारीबाट २१ हजार ७०० रुपैयाँको लागतमा उद्योग स्थापना भएको जानकारी उहाँले जानकारी दिनुभयाे ।
सहकारीका अध्यक्ष गंगा नेपालीले अर्गानिक स्वादका लागि अर्गानिक मसला उद्योग स्थापना गरिएको जनाउनु भयाे । उहाँले उद्योगमा जिरा, धनिया, खुर्सानी, मरिच, बेसार उत्पादन तथा खरिद गरिने बताउनु भयाे । अहिले एउटा मेसिनबाट उद्योग स्थापना गरिएको र आगामी दिनमा यसलाई ठूलो मसला उद्योगको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । उद्योगमा अहिले आठ महिला संलग्न छन् ।
प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार १६:२६