मुगु । हरेक दिन ताखुको सहायताले ऊन कात्ने बाटो हिड्दा वा छिमेकीसँग बस्दा र भेडा चराउन जाँदा समेत खाली नबस्ने डोरी कात्दै कुराकानी गर्ने र हिडडुल गर्ने साधारण जिवन शैलीका ६१ वर्षीय तुलाराम बुढाको दैनिक दिनचर्या हो ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ रोबा घर भएका बुढाले भेडा पालन र हाते औजारको प्रयोगबाट कोट तथा ईष्टकोट बनाउने पाखो, राडीपाखी लिउ, फेरुवा बुनेर बर्षेनी लाखौ रुपयाँ आम्दानी गर्दै आएका छन् । उनले बाङ्, सिरानी, चर्खा, रुली, बया, पिठान्नु, ताखु र पुईनाटा लगायतका घरेलु सामग्रीबाट उन्जन्य बस्तुहरु बुन्दै आएका हुन् ।
२०३५ सालबाट राडी पाखी लगायत कोट बनाउने पाखो बुन्दै आएका बुढाले त्यतिखेर एउटा कोट बनाउने पाखोको १४ सय देखि १५ सयमा विक्री गर्ने गरेको बताउँछन् । तर आज भोली एउटा पाखोको रु ९ हजारमा विक्री हुने गरेको छ ।
१४ जनाको परिवारका सदस्य भएको उनको घरमा भेंडा पालनबाट र उद्योगबाट २०६५ साल यता १० लाख रुपयाँ भन्दा बढी आम्दानी गरेको बुढाले बताए । उनले भने “उद्योग र भेडा पालनको आम्दानीले आएको पैंसाले दुई जना छोरा र बुहारी लाई उच्च शिक्षा सम्म पढाई रहेको छु भने घर खर्च गरि हाल बचेको ५ लाख रुपयाँ बैङ्कमा बचत गरेको छु ।”
जिल्लामा बिभिन्न समयमा हने गरेका घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रर्दशनीबाट आफू ९ पटक राडीपाखीबाट प्रथम स्थान हात पारेको उनले भने । यसैगरी राडीपाखी बुनाईबाट जिलाकै उत्कृष्ट उद्योगीका रुपमा छनौट भई थाईलेण्ड भ्रमण समेत गरेका छन् ।
हाल उनीसँग ८० वटा भेंडा बाख्रा रहेका छन् । मेहनेतको फल मिठो हुने र रुपैयाँ कमाउन विदेशै जानु पर्छ भन्ने केही छैन मैले कसैलाई हात थाप्नु परेको छैन् । बरु मैले नै अरुलाई सहयोग गरेको छु उनले थपे ।
हाल बजारमा कोट बनाउने पाखोको माग धेरै भएपनि माग अनुसार पुर्ती गर्न नसकेको उनले भने । आफूले बुनेको पाखो काठमाण्डौ, पोखरा, लगायत बिदेशमा समेत विक्री हुने गरेको बुढाको भनाई थियो । मैले परम्परागत तरिकाबाट उद्योग सञ्चालन गरेपनि समय धेरै लाग्ने गरेकाले पनि अझै अपेक्षित फाईदा लिन नसकेको उनको धाराणा छ ।
घरमा नै पालिएका भेंडा बाख्राको उनबाट राडी, फेरुवा, लिउ उत्पादन गरेपनि कोट बनाउने कपडा भने उनले तिब्बत बाट प्रति केजी रु ५ सयका दरले भेंडाको उन खरिद गर्ने गरेका छ । केही नगरी हात बाँधेर बस्ने तर बेरोजगार भयौं भन्ने युवाको लागि मेहनेति बुढा जिल्लाकै नमुना उद्योगी बनी सबै युवाका प्रेणाका श्रोत बनेका छन् ।
प्रकाशित मिति: १६ श्रावण २०७६, बिहीबार १४:२०