सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका मुख्य सडकहरुको अवस्था जीर्ण र दयनिय बन्दै गएका छन् । नगरका मन्त्रालय जाने सडकहरु, शिक्षा क्याम्पस जाने सडक, बसपार्क जाने सडक, प्रदेश अस्पताल जाने सडक, घन्टाघर चोकलगायतका मुख्य सडकहरु भत्किएर नाजुक बनेका छन् । सडकको अवस्था दयनीय बनेपछि सवैले वीरेन्द्रनगर नगरपालिकाले के हेरेको भनी बारम्बार प्रश्न गर्ने गरेको अवस्था छ ।
वीरेन्द्रनगरका भित्री सडकहरु असारे विकास लागेसंगै कालोपत्रे गरिएका छन् तर नगरका भित्री सडकहरु कालोपत्रे भएपनि मुख्य सडकहरु भने जिर्ण र नाजुक बन्दै गएको अवस्था छ । नगरका मुख्य सडकमा ठूला खाल्डाले सवारीसधान चलाउनै हम्मे हम्मे छ ।
विशेषगरी वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ४, ६, ७, ८ लगायतका भित्री सडकहरु गत असार महिनामा कालोपत्रे भइसेका छन् । स्थानीय बासु तिमिल्सिनाले वीरेन्द्रचोकदेखि मंगलगढी चोक, जिल्ला प्रहरी कार्यालय अगाडिको सडक खाल्डाखुल्डीका कारण हिंड्न नसक्ने अवस्थामा रहेको बताउनुहुन्छ । उहाँले नगरपालिका कार्यालय अगाडिकै सकड पनि मर्मत नभएकाले आउजाउ गर्नै कठिन भएको जनाउनुभयो ।
त्यतिमात्र नभई पुरातात्विक तथा ऐतिहासिक स्थल काँक्रेविहार जाने सडक पनि दुरावस्थामा रहेको छ । साना तथा भित्री सडकभन्दा पनि पहिलो ठूला तथा मुख्य सडकहरु मर्मत गर्नुपर्ने स्थानीयको माग छ । तर वीरेन्द्रनगर नगरपालिकाले स्थानियको माग भन्दा ठीक विपरित गरेको छ । भित्री तथा साना सडक मर्मत गर्नमात्रै ध्यान दिएको छ । ठूला सडकहरुको अवस्था सुधारतर्फ कुनै पहल भएको छैन ।
वीरेन्द्रनगर नगरपालिकाले ठूला भन्दा साना र भित्री सडकहरुलाई प्राथमिकतामै राखेरै कालोपत्रे गरेको छ । नगरपालिकाले साना तथा सहायक सडकहरु टालटुल गरेर एक करोड १० लाख रुपैयाँ बजेट सकेको छ । सडक बोर्डको बजेट नयाँ कालोपत्रमा खर्च गर्न नपाइने भएकाले सहायक सडक टालटुल गरेको नगरपालिकाले जनाएको छ । सडक वोर्डको बजेटले नयाँ सडकको कालोपत्रे गर्न नपाइने भएकाले मर्मत मात्र गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनु भयो । उहाँले प्रदेशसभा हल जाने सडक, कालुञ्चोक अगाडिको सडकको मर्मत गरिसकेको जनाउनुभयो ।
उहाँका अनुसार वीरेन्द्रनगरका केही सहायक सडकहरुको समेत मर्मत गरिसकिएको छ । सडक मर्मतका लागि सडक वोर्डको ६५ लाख तथा वीरेन्द्रनगर नगरपालिकाको ४५ लाख गरी एक करोड १० लाख बजेट रहेको थियो ।
यता प्रदेश राजधानीलगायतका महत्वपूर्ण स्थानका जीर्ण सडकहरु यसैबर्ष मर्मत हुनेभएका छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १५÷१६ वटा सडक मर्मतका लागि करिव २५ करोड मूल्य बराबरको टेण्डर गत असार महिनामा गरिसकेको छ । मन्त्रालयका सचिव दानरत्न शाक्यले तीन वटा प्याकेजमा यही आर्थिक बर्षभित्र यी सवै सडकहरुको मर्मत गरिने बताउनुभयो । सवै सडकलाई शहरी सडकमा राखेर मर्मत गरिने उहाँले जनाउनुभयो ।
प्रकाशित मिति: १५ श्रावण २०७६, बुधबार १५:३३