सुर्खेत । कर्णाली प्रदेश सरकारले विषादी परिक्षण प्रयोगशाला केन्द्र बनाउन ढिलाई गर्दा स्थानिय उपभोक्ताले विषादीयुक्त तरकारी खान बाध्य भएका छन् ।
कर्णाली प्रदेश सरकारले तरकारी तथा फलफुलको विषादी परिक्षण गर्न भनी सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी परीक्षण तथा दु्रत प्रयोगशाला केन्द्र स्थापना गर्ने योजना बनाएको थियो । तर अहिलेसम्म उक्त विषादी परीक्षण तथा दु्रत प्रयोगशाला केन्द्र स्थापना हुन सकेको छैन । परिक्षण केन्द्रका लागि प्रदेश सरकारले एक करोड बजेट विनियोजन समेत गरेको थियो ।
तरकारीको विषादी परिक्षण गर्न सुर्खेतकालागि हर्रे र सल्यानको कपुरकोट परिक्षण केन्द्र स्थापनाका लागि ५०-५० लाख बजेट विनिययोजन गरेको भूमीव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनु भएको छ । कपुरकोटमा परिक्षण केन्द्र निर्माणको ८० प्रतिशत काम सकिएको छभने हर्रेमा जग्गा नहुँदा निमार्णको काम हुन नसकेको उहाँको भनाई छ । ‘हर्रेमा स्थानियको घरभाडामा लिएर भएपनि विषादी परिक्षण प्रयोगशाला निमार्ण गर्छौ ।’ उहाँले भन्नुभयो ।
वीरेन्द्रनगरमा पनि विषादी परिक्षण प्रयोगशाला केन्द्र स्थापनाका लागि काम सुरु गर्ने मन्त्रालयले जनाएको छ । बजेटमा विषादी प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । विषादी प्रयोगशालाको भवन निर्माणका लागि छुट्याईएको बजेट फ्रिज नहुने गरेर क्रमागत रुपमा नै लैजाने मन्त्रालयको योजना छ ।
भारतबाट आयातित हुने तरकारीको कुनै परिक्षण नहुँदा विषादीयुक्त तरकारी उपभोग गर्ने प्रवृत्ति बढेको छ । भारतीय बजारबाट ल्याइएको तरकारीलाई परिक्षण गर्ने प्रयोगशाला नहुँदा उपभोक्ताले विषादीयुक्त तरकारी उपभोग गर्नु परेको फलफुल तथा तरकारी व्यवसायी संघ सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाही बताउँनुहुन्छ ।
तरकारीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले विषादीयुक्त तरकारी प्रयोग गरिरहेका छन् ।
सरकारले अर्गानिक प्रदेश बनाउने घोषण गरे अनुसार भारतीय बजारबाट आउने तरकारीमा रोक लगाउने र स्थानिय तरकारी उत्पादनमा कृषकलाई प्रेरित गर्न नसकेको उहाँको भनाई छ । स्थानिय तरकारी उत्पदानमा सरकारले जोड दिन उहाँले आग्रह गर्नुभयो ।
आयातित तरकारी रोक्न यहाँका किसानमाथि लगानी गर्नुपर्ने अध्यक्ष शाहीले बताउनुभयो । ‘अर्गानिक प्रदेश बनाउने सरकारको योजना भएपनि यसलाई किसानले नै सफल पार्न सक्छन् ।’ उहाँले भन्नु भयो । त्यसैले प्रांगारिक मलको प्रयोग तथा स्थानीय उत्पादनमा जोड दिन बजार व्यवस्थापन पनि गरिदिनुपर्छ ।’
अहिले उपभोक्ताहरुले भान्सामा विष पकाईरहेको भन्दै उहाँले चाँडै नै प्रदेश सरकारले विषादी प्रयोगशाला केन्द्र बनाउनुपर्ने बताउनु भयो ।
प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलवार १४:०१