मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ मा पर्ने भट्टेचौरमा मोटरेबलको पुल निर्माण कार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरि विगत ३ वर्ष अघि शिलान्यास गरि निर्माण कार्य शुरु गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै पुलको निर्माण कार्य अलपत्र परेको हो ।
लामो समय देखि निर्माण कार्य अलपत्र भएपछि सवारी साधनका साथै पैदल यात्रीलाई समेत आवत जावतमा असहज भएको छ । पुल नबन्दा हुम्लाको तल्लो भेगका साथै छायाँनाथ रारा नगरपालिका भित्रका आधा दर्जन भन्दा बढी गाउँका वासिन्दालाई सदरमुकाम आवत जावतमा समस्या भएको छ ।
बेलायत सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रमले गुमुको सदरमुकाम गमगढी बजार देखि हुम्लाको देउली सम्मको ६७ किलोमिटर मध्ये मेल्छाम बगरसम्म ५३ किलोमिटर मोटर बाटोको ट्रयाक खोलीसकेपनि मुगु कर्णाली नदीको भट्टेचौरमा पक्की पुल समयमा बन्न नसक्दा स्थानीय बासिन्दालाई सदरमुकाम गमगढी आवत जावतमा कठिनाई भएको हो ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ बाम गाउँका वडा अध्यक्ष नन्ललाल बढुवालले बनिसकेको मोटर बाटो पनि पुलको अभावले प्रयोगमा नआउँदा गाउँमा उत्पादित स्याउ, आलु, सिमी लगायतका उत्पादित कृषिजन्य वस्तु सदरमुकाम गमगढी पुर्याउन पनि समस्या भएको बताउनु भयो । पुलको अभावमा ३ घण्टा आउन र ३ घण्टा जान गरी ६ घण्टा १ दिनमा हिड्नु पर्ने बाध्यता रहेको उहाँले दुख व्यक्त गर्नु भयो ।
३ वर्ष देखि पुल निर्माणमा ढिलाई गर्ने निर्माण कम्पनीलाई सम्बधित निकायले आवश्यक कार्वाही गर्नु पर्ने वडा अध्यक्ष बढुवालको भनाई छ । यो समस्या केवल बडा अध्यक्ष नन्दलाल बढुवालको मात्र होईन, मुगु कर्णाली पारीका सबै बस्तीमा बसोबास गर्ने वासिन्दाको हो । हाल पुल बनाउने स्थान भट्टेचौरमा तुईनको भरमा मालसामान ढुवानी गरिदै आएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार १०:४६