सुर्खेत । कर्णाली प्रदेशले ‘वातावरणमैत्री प्रदेश’ बनाउन साइकल अभियान संचालन गरेको छ । सुरुवात आफैबाट भनेझै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका कर्मचारीले प्रत्येक शुक्रवार कार्यालय आउँदा र जाँदा साइकल चलाउने भएका छन् । सवारी साधनबाट हुने वातावरणीय प्रदुषण कम हुने, इन्धन खपत घट्ने र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएकाले मोटरसाइकल खरिद गर्ने बजेटबाट दश वटा साइकल खरिद गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्य सचिव केवल भण्डारीले सरकारी कार्यालयहरुमा वर्षेनी ठुलो रकम इन्धनमा खर्च हुने भएकाले त्यसलाई कम गर्न कर्मचारीलाई साइकल प्रदान गरिएको जानकारी दिनु भयो । इन्धन पनि खपत कम हुने, वातावरण प्रदुषण पनि कम हुने भएकाले हामीले साइकल चढ्ने निर्णय गरेका हौं,’ उहाँले भन्नुभयाे, ‘कार्यालयबाट मोटरसाइकल किन्ने कुरा भएको थियो, मैले मोटरसाइकलभन्दा पनि साइकल किनौं भनेर आग्रह गरें।’
भण्डारीका अनुसार मन्त्रिपरिषद् कार्यालयमा १४ वटा साइकल भएका छन् । चार साइकल पुराना हुन् भने दश वटा यही साता किनिएको हो । कर्मचारीले साइकल पालैपालो प्रयोग गर्ने सल्लाह भइरहेको भण्डारीले जानकारी दिए ।
कार्यालयले ३० हजार दरले १० साइकल किन्न तीन लाख रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले ५० जना कर्मचारी कार्यरत छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साइकल लेन तथा केहि भित्री सडकहरुमा भएका खाल्डाखुल्डीको मर्मत सुधार गरि सहज साइकल संचालन गर्न मिल्ने बनाउन बजेटसमेत व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
कर्णाली राजमार्गको धुलियाविटदेखि बाँगेसिमलसम्मको सडक खण्डमा साइकल लेन निमार्ण गर्न प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको छ । सातामा एकदिन साइकल चढेर कार्यालय जाँदा काम गर्ने उत्प्रेणा मिलेको कर्मचारीहरुले बताएका छन् ।
वीरेन्द्रनगरलाई विश्वका विकसित मुलुकको जस्तै व्यवस्थित साइकल शहर बनाउन सकिने धेरै सम्भावना रहेको अभियन्ता माधव चौलागाईं बताउँनुहुन्छ ।
वीरेन्द्रनगरमा धेरैजसो संरचनाहरू निर्माण हुन बाँकी रहेकाले ती संरचना साइकलमैत्री बनाउने गरी सरोकारवाला लाग्नु पर्ने उहाँको भनाइ छ ।
केही समयअघि विश्व साइकल दिवसको अवसर पारेर ‘कर्णाली राइडर्स’ क्लब पनि गठन गरिएको छ। उक्त क्लबले वीरेन्द्रनगरमा साइकल राइड गर्ने गरेको छ।
प्रकाशित मिति: १० श्रावण २०७६, शुक्रबार १४:४५