मुगु । सडक खन्ने कामबाट मुगुका गरिब र विपन्न महिलाहरुको आर्थिक अवस्थामा सुधार आएको छ । बेलायत सरकार अन्तराष्ट्रिय विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम २०७० साल देखि लागु भएपछि मुगुका गरिब तथा विपन्न महिलाहरुको आर्थिक अवस्थामा सुधार आएको हो ।
ग्रामीण पहुँच कार्यक्रम लागु भएका श्रीनगर, कार्कीवाडा, रुगा, थार्प, तिर्प, लह, लापु, लुम, बाम, फुली, निगाले कच्चे र गिलाहाँ लगायतका एक दर्जन भन्दा बढी गाउँका महिलाहरु ग्रामीण पहँुच कार्यक्रमबाट लाभाम्बित भएका हुन् ।
मुगु–हुम्ला जिल्लाको देउली सम्म जम्मा ६७ किलो मिटर सडक खन्नका लागि महिलाहरु हाल जुटिरहेका छन् । सडक खन्ने काम वापत आएको ज्यालाको आम्दानीबाट महिलाहरुले बचत समेत गर्ने गरेका छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ निवासी जनमति बढुवालले सडक खन्ने कामबाट आएको पैंसाले आप्ना ३ जना बाल बच्चालाई कापी कलम किन्न र स्कुल पढाउन सहज भएको बताउन भयो ।
विगतका दिनहरुमा आफुलाई समस्या पर्दा लोक्नेलाई हात थाप्नु पर्दथ्यो तर आज भोली आफ्नै कमाई भएकाले आफ्ना सानातिना समस्या समाधान गर्न सहज भएको र केही पैसा बचत समेत गरेको सोही वडा निवासी पदमकला बुढाले बताउनु भयो ।
सानातिना समस्या टार्नका लागि अण्डा, सिमी लगायत आलु गमगढी लगेर बेच्नु पर्दथ्यो आजकल कतै जानु नपरेको बडा नंम्बर १४ कै मच्चीकला बढुवालको भनाई छ ।
ज्नमति, पदमकला र मच्चीकला प्रतिनिधि पात्र मात्र हुन् । यी जस्तै सडक खन्ने काम सम्लग्न गाउँघरका सयौं महिलाको आर्थिक अवस्थामा परिवर्तन आएको छ । यस अघि ग्रामीण पहँुच कार्यक्रमले गमगढी– धैन धुलाचौर सडक अन्तर्गत गिलाहाँ सडक खण्डको २२ दशमलव ७५ किलोमिटर सडक निर्माण गरिसकेर सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिसकेकोे कार्यालयले जनाएको छ ।
कार्यक्रम लागु भएको ६ वर्षको अवधिमा थुप्रै विपन्न महिलाहरुले रोजगारी पाएका थिए । सडक खन्ने काममा १ हजार ६ सय ८३ जना कामदार मध्ये ३८ प्रतिशत विपन्न महिलाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ९ श्रावण २०७६, बिहीबार २१:३०