सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका वासिन्दाले खडेरीमा पानीको चरम अभाव झेल्दै आएका छन् । खानेपानीको चरम अभाव झेल्दै आएका सुर्खेत उपत्यकाका बासिन्दाले वर्षा सुरु भएलगत्तै धमिलो पानी पिउन बाध्य भएका छन् ।
खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभाेक्ता संस्थाले धमीलो पानी वितरण गरेपछि धमीलो पानी पिउन बाध्य भएका हुन । खडेरीमा हप्तामा एक दिनसम्म पानी वितरण गर्ने र वर्षामा मुहानमा खहरे खोला मिसिने भएकाले संस्थाले वितरण गरेको धारामा धमिलो पानी आउने गरेको स्थानीयको भनाई छ ।
खडेरीमा चरम अभाव हुने र वर्षामा धमिलो पानी खानु परेको स्थानीय बालकुमारी डाँगीले बताउनु भयो । खडेरीमा हप्ता दिनमा एक पटक धारामा पानी आउने गरेको उहाँको भनाई छ । अहिले पानी एक दिन विराएर आएपनि धमिलो हुने उहाँको भनाई छ । राजधानीमा खानेपानीको विकल्प नहुँदा धमिलो पानी खानु पर्ने बाध्यता रहेको उहाँले जनाउनु भयो ।
खडेरीमा झुप्रा खोलासहितका खहरे खोलाका मुहान सुक्ने भएकाले वीरेन्द्रनगरको माग अनुसार पानी वितरण गर्न नसकिएको सुर्खेत उपत्यका खानेपानी उपभाेक्ता संस्थाले जनाएको छ । वर्षा सुरुभए लगत्तै खोलाहरु बढ्ने भएकाले पानीलाई ट्रिटमेण्ट गर्दा गर्दै पनि पानी संगलिनसमय लाग्ने संस्थाले जनाएको छ । मुहान भन्दा माथि सडक विस्तार गरिएकाले पानी परेपछि मुहान धमिलो हुने भएकाले धारामा पानी धमीलो आउने गरेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताउनु भयो ।
सुर्खेतमा वस्ती विकास बढ्दै गएकाले दैनिक डेढ करोड लिटर पानीको माग रहेको उहाँको भनाई छ । माग अनुसार पानी पुर्याउन हम्मे हम्मे परेको संस्थाका अध्यक्ष देवकोटाले बताउनु भयो । चरम खडेरीमा मुहानहरु सुक्ने भएकाले दैनिक ३० लाख लिटर पानी उलब्ध हुने गरेको उहाँको भनाई छ । आवश्यकता अनुसार पानी पुर्याउनका लागि संघीय सरकारको ४ करोड र प्रदेश सरकारको ५० करोड छुट्याएको बजेटले भेरीको पानी लिफ्ट गरेर उपत्यकामा ल्याउन काम अघि वढेको उहाँले जनाउनु भयो ।
सुर्खेतमा पानीको अभावलाई पुरा गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय स्थापना समेत गरिसकेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले तयार पारेको डिपिआर अनुसार यसै आर्थिक वर्षमा टेण्डर गरिने संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । डिपिआर अनुसार भेरी र झुप्रा खोला जोडिने स्थानमा कुवा बनाएर पानी मापन गरिने कार्यालयले जनाएको छ । खानेपानीका लागि उपत्यकामा १७ हजार धारा वितरण गरिएको छ ।
प्रकाशित मिति: ९ श्रावण २०७६, बिहीबार १६:१०