मुगु । डोकोमा तरकारी, हातमा दूधको भाँडो लिएर हरेक विहान गमगढी बजारमा विक्री गरेर फर्किनु छायानाथ रारा नगरपालिका वडा नम्बर ३ हेर्नीकाँध गाउँकी कुशुम देवि कार्कीको दैनिकी हो ।
कार्की मात्रै हैन गाउँका २३ वटै घरधुरीका महिलाहरुको दिन चर्या यसैगरी वित्ने गर्छ । महिला बहुउदेश्यीय कृषि तथा पशुपालन समुह गठन गरी यस गाउँका महिलाहरुले बाह्रै महिना तरकारी खेती गर्दै आई रहेका छन् । विगत लामो समय देखि तरकारी खेतीमा अब्बल देखिएको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ स्थित हेर्नीकाँध गाउँ पछिल्लो समयमा भैंसी पालनमा समेत नमूना बन्दै गएकोछ ।
अति विपन्न किसान सरकार हातेमालो कार्यक्रम अन्तर्गत यो गाउँका २३ घरधुरीले दुहुनो भैंसी पालन सुरु गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २५ लाखको लगानीमा गाउँका सबै घरधुरीले दुहुनो र्भैसी किनेका हुन् ।
विज्ञ केन्द्र र छायानाथ रारा नगरपालिकाको समन्वयमा हेर्नीकाँध गाउँलाई जिल्ला कै नमूना गाउँ बनाउन छनौट गरी व्यवसायिक भैंसी पालन सुरु गरिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताउनु भयो । भैंसी पालन सुरु भएपछि दैनिक यो गाउँबाट ७० देखि एक सय लिटरसम्म दुध बजारमा आउने गरेको छ ।
तरकारी खेतीमा राम्रो उत्पादन गरिरहेको यो गाउँका कृषकलाई भैंसी पालनमा अनुदान दिनुको साथै गोठ सुधार तथा कम्पोष्ट मल उत्पादन, दूध संकलन केन्द्र, बजार व्यवस्थापन, उन्नत जातको घाँस लगायत क्षेत्रमा नगरपालिकाको साझेदारीमा सहयोग गर्ने पशु विज्ञ केन्द्रका कार्यालय प्रमुख भिमचन्द्र बुढाले जानकारी दिनुभयो । सदरमुकाम देखि आधा घण्टाको दुरीमा पर्ने यो गाउँलाई यसै वर्ष भित्र सडकसँग जोडेर कृषि पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ यो गाउँ छनौटमा परेको विज्ञ केन्द्रले जनाएको छ ।
यो गाउँका सबै महिला तरकारी खेती र भैंसी पालनमा सक्रिय छन् भने यो अभियानमा पुरुषको पनि उतिकै भूमिका रहेको स्थानीय शिक्षक हंशबहादुर बुढाले बताउनु भयो । तरकारी खेती र भैंसी पालनपछि स्थानीयको जीवन स्तरमा निकै सुधार आएको बुढाको भनाई छ । सबैले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाई रहेका छन् । तरकारी बेचेर मात्र मासिक यो गाउँमा पाँच लाख सम्म आम्दानी हुँदै आएकोमा भैंसी पालनले आम्दानी अझै बढ्ने र पोषण तथा स्वास्थ्यमा सुधार आउने स्थानीय रंगबहादुर कार्कीले बताउनु भयो ।
प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलवार २२:०३