सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिम क्षेत्रमा पोल गाडेको पाँच बर्षपछि विद्युत सेवा पुगेको पुगेको छ । वीरेन्द्रनगरदेखि करिव २६ किमी टाढा रहेको बराहताल गाउँपालिका वडा नं. ५ को बड्डिचौर बजारमा पोल गाडेको पाँच बर्षपछि बल्ल राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो । गत विहीवारदेखि त्यस क्षेत्रमा विद्युत बलेको छ ।
बड्डिचौरमा पुगेको विद्युत सुर्खेतबाट नभइ दैलेखबाट वितरण गरिएको छ । सुर्खेतदेखि सिधै दैलेख जाने विद्युत, त्यहाँबाट फर्किएर सुर्खेतकै बड्डिचौर बजारमा पुगेको हो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले बजार क्षेत्रमा मिटर राख्न र घरहरुमा वायरिङ गर्न थालिएको छ । बड्डिचौर बजारमा विद्युत वितरण गर्ने काम दैलेखले गरेपनि अहिले लाइन जोड्नेलगायतको काम भने सुर्खेत प्राधिकरणले गरेको छ ।
विद्युत प्राधिकरण सुर्खेतका प्राविधिक सन्तोष सुनुवारले विहीवारदेखि बड्डिचौर बजारमा पहिलो पटक विद्युत बलेको बताउनुभयो । उहाँले अव घरघरमा विद्युत जोड्ने काम भइरहेको जानकारी पनि दिनुभयो । बड्डिचौर बजारमा १०० केभीको ट्रान्सफर्मर राखेर बराहतालका सलैना, दमार, कुनाथरी, ओदालताल, बेचचौरलगायतका गाउँमा विद्युत वितरण गरिएको छ । प्राविधिक सुनुवारका अनुसार अन्य स्थानहरुमा पनि वितरण वितरणको तयारी भइरहेको छ । अहिलेको लाइनबाट त्यस क्षेत्रका करिव ६०० घरपरिवारले विद्युत उपभोग गर्न पाउनेछन् ।
विद्युतको राष्ट्रिय प्रसारण लाइन अघि त्यहाँ सोलारबाट उज्यालो प्राप्त गरिएको थियो । सामुदायिक वन तथा निजी क्षेत्रले त्यहाँ सोलार वितरण गरेको थियो । अव त्यही बड्डिचौर हुँदै पञ्चपुरी नगरपालिकाको बावियाचौरसम्म विद्युत पुग्नेछ ।
यता विद्युत प्राधिकरण सुर्खेतले जिल्लाको पश्चिम क्षेत्रमा राष्ट्रिय विद्युत प्रसारण लाइने जोड्ने क्रमको सुरुवात भएको जनाएको छ । प्राधिकरण प्रमुख सुरज भण्डारीले बड्डिचौरमा हाललाई दैलेखको विद्युत वितरण गरिएपनि दसैं अगाडि नै सुर्खेतबाट वितरण गर्ने व्यवस्था मिलाइने बताउनुभयो । उहाँले बराहतालको बड्डिचौर हुँदै पञ्चपुरी नगरपालिकाको बावियाचौरसम्म विद्युत पुर्याइने जनाउनुभयो ।
विगतमा विद्युतका लागि थोरै रकम विनियोजन हुने र त्यसबाट काम गर्न कठिनाइ हुने गरेकोमा यसपटक विद्युतमा पर्याप्त बजेट आएकोले काम गर्नपनि सहज भएको उहाँको भनाइ छ । पोल गाडेको पाँच बर्षभित्र त्यस क्षेत्रका बासिन्दाहरुले विद्युतको राष्ट्रिय प्रसारण लाइन उपभोग गर्न पाएको भन्दै उहाँले अव अगाडि तिरको कामपनि तीव्र गतिमा भइरहेको उल्लेख गर्नुभयो । पश्चिमको पंचपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अझैपनि विद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन ।
प्रकाशित मिति: ६ श्रावण २०७६, सोमबार १४:५४