सुर्खेत । कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजा कमजोर भइरहेकोले अवस्थामा सुधार ल्याउन विगतदेखि दिइदैं आएको बर्षे बिदा कटौती गर्नुपर्ने आवाज उठेको छ । एक महिना लामो बर्षे बिदाले विद्यार्थीहरुको सिकाई स्तर कमजोर हुने भएकोले यस्ता अवैज्ञानिक बिदाहरु कटौती गर्नुपर्ने आवाज प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरबाट उठेको छ ।
विगतमा असार र साउन महिनामा खेती गर्नुपर्ने, विद्यालय जाँदा खोला बाढीको डरले गर्दा बर्षे बिदा दिने नियम बनाइएको तर अहिले उक्त नियम सान्दर्भिक नदेखिएकोले सो बिदा हटाउनुपर्ने जनाइएको छ । लामो बिदाले विद्यार्थीहरुले सिकेको कुरा विर्सने, पुनः दोहो¥याउनुपर्ने जसका कारण नतिजा कमजोर आएको हुँदा राम्रो नतिजा ल्याउनका लागि बर्षे बिदा हटाउनुपर्ने भनिएको छ ।
सामुदायिक विद्यालयको पक्षमा काम गर्दै आएको एडुकेट कर्णाली नेपालका महासचिव भरतकुमार पन्तले विगतमा बर्षे बिदा जायज भएपनि अहिले वडैपिच्छे विद्यालयहरु भएकोले उक्त विदा हटाउनुपर्ने बताउनुहुन्छ । उहाँले निजी विद्यालयले धेरै बिदा नगर्ने हुँदा उनीहरुको अवस्था राम्रो हुने तर सामुदायिक विद्यालयहरुमा बिदा धेरै हुनेभएकोले नतिजा कमजोर आउने गरेको दावी गर्नुभयो । बिदा धेरै दिइएकोले सामुदायिक विद्यालयहरुमाथि गरिएको सरकारी लगानी बालुवामा पानी भएको टिप्पणी उहाँको छ ।
यसगैरी एडुकेट कर्णाली नेपालका अध्यक्ष मनवीर नेपालीले यसबर्षको एसईई परीक्षामा कर्णाली प्रदेशमा ए र ए प्लस नतिजा ल्याउने विद्यर्थीहरु ०.४४ प्रतिशत मात्रै भएको जानकारी दिदैं त्यसमा निजी विद्यालयहरुले इज्जत धानिदिएको बताउनुभयो । दसैंतिहारलगायतका पर्व बिदा, शनिवारको बिदाका साथै बर्षे बिदाले पनि गर्दा सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था धरासायी बनेको भन्दै उहाँले अवदेखि बर्षे बिदा हटाउन आवश्यक रहेको जनाउनुभयो ।
सामुदायिक विद्यालयमा एक महिना लामो बर्षे बिदा नदिइ विद्यार्थीहरुको सिकाईलाई प्रोत्साहन गर्ने गरी कामहरु गर्न उहाँले आव्हान गर्नुभयो । सुर्खेतमात्र नभइ समग्र कर्णाली प्रदेशभर बर्षे बिदा हटाउनुपर्ने जोड दिनुभयो । लामो बिदाले विद्यार्थीहरुले सिकेको ज्ञान विर्सने उहाँको भनाइ छ । सामुदायिक विद्यालयहरुले पनि यस्ता बिदा नराखी निरन्तर कक्षा संचालन गर्न आग्रह गरिएको छ ।
एडुकेट कर्णाली नेपालले वीरेन्द्रनगर नगरपालिकाभित्रका लागि नगरपालिका र प्रदेश भरका लागि सो बर्षे बिदा कटौतीको प्रावधान राख्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाएको छ । वीरेन्द्रनगरमा बर्षे बिदा नगर्ने केही सामुदायिक विद्यालयहरुको नतिजा राम्रो भएको उदाहरण छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक कुशल बोहराले हरेक क्षेत्रझैं शैक्षिक क्षेत्रमा पनि कर्णाली प्रदेश कमजोर रहेकोले बर्षे विदाको कटौती गरी निरन्तर कक्षा संचालन गर्न सकिए नतिजामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । बिदाले समय खेर जाने हुँदा त्यसलाई सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । वीरेन्द्रनगरमा उठान गरेको सामुदायिक विद्यालयको बर्षे बिदा कटौतीको विषयलाई प्रदेशभर बहस गर्नुपर्ने उहाँले जनाउनुभयो ।
प्रकाशित मिति: ३१ असार २०७६, मंगलवार १७:१२