मुगु । बजेट सिमाको विवादका कारण अनिश्चित रहेको छायाँनाथ रारा नगरपालिकाको नगर सभा हुने सहमति भएको छ । वडाहरुमा ४५ लाख बराबरको बजेट सिलिङ्गमा सहमति भएपछि नगरसभा हुने भएको हो ।
मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चित जस्तो देखिएको नगरसभा शनिवार बसेको नगर कार्यपालिकाको बैठकमा वडा स्तरका योजनाहरुको कुल ४५ लाख को सेरोफेरोमा योजनाहरु बनाउने सहमति भएपछि नगरसभा हुने सुनिश्चित भएको हो ।
नीतिगत रुपमा गत १० गते भित्र स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याई सक्नु पर्ने भएपनि यहाँका वडा अध्यक्षहरुले वडामा १ करोड बजेट माग गर्दै बस्ति स्तरबाट आएका योजनाहरुको प्राथमिकता नगरपालिकामा पेश गर्नु पर्नेमा वडा कार्यालयहरुले पेश नगरेपछि २१ गते सारिएको थियो ।
२१ गते नगरसभा हुनु पर्नेमा त्यो वेला पनि वडाबाट योजना पेश नभएपछि सो दिन नगर कार्यपालिकाको बैठक बसि वडा स्तरमा ४५ लाखको बजेट सिलिङ्ग दिने सहमतिपछि आगामी २८ गते नगर सभा हुने निर्णय भएको नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो ।
वडाको बजेट सिलिङ्ग दामासाही नभएर जनसंख्या, भुगोल, शिक्षाा, पछाडी परेको समुदायलाई आधारमानि बजेट सिलिङ्ग वडा कार्यालयहरुलाई पठाईने र सोही सिलिङ्गको आधारमा बस्ति स्तरबाट आएका योजनाहरु प्राथमिकताको आधारमा बजेट बाँडफाड हुने प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताउनु भयो । यसरी बाडफाड गर्दा नगरका १४ वडाहरु मध्ये सबै भन्दा बढी वडा नम्बर १३ ले ४७ लाख र सबै भन्दा कम वडा नम्बर ९ ले ४० लाखको सिलिङ्ग पाएको पनि उहाँले बताउनु भयो ।
गत वर्ष नगरपालिकाले वडाहरुमा २९ लाखको बजेट सिलिङ्ग पठाएको थियो भने बजेट दामासहीले बाँडफाँड गरिएको थियो यो वर्ष नीतिमा टेकेर स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७५ को दफा ५.५.५ मा गरिएको नीतिगत विधि अनुसार बजेट बाँडफाँड गरिएको पनि नगरपालिकाले जनाएको छ ।
वडामा बजेटको सिलिङ्ग कम हुँदा जनताका आवश्कताका योजनाहरु कम छनौट हुने भएकाले बजेटको सिमा बढाउन नगर प्रमुखसंग आग्रह गरेको र सो्रत सुनिश्चिताको खोजीले गर्दा नगर सभाको अवधि लम्विएको र शनिबार भएको सहमति र कार्यपालिकाको निर्णय अनुसार आगामी २८ गते छाँयानाथ रारा नगरपालिकाको पाँचौ नगरसभा हुने निर्णय भएको वडा नम्बर २ का वडा अध्यक्ष परेगराज चौलागाईले बताउनु भयो ।
जिल्लाका अन्य स्थानीय तह मध्ये सोरु गाउँपालिकाले गत १० गते नै गाउँसभा उद्घाटन गरी शनिबारबाट सम्पन्न गरेको छ भने अन्य खत्याड गाउँपालिकामा र मुगुम कार्मारोङ्ग गाउँपालिकामा बजेट माथि छलफल चलिरहेको छ ।
प्रकाशित मिति: २२ असार २०७६, आईतवार २०:०६