सुर्खेत । नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको कर्णाली प्रदेशमा शुरुवात गरेको छ ।
कम्पनीले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा कानुन मन्त्री भण्डारीले कर्णाली प्रदेशलार्ई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गर्नुभयो ।
उहाँले यो वर्षभित्र कर्णालीका सबै स्थानीय निकाय र शहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउँनुहुँदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आव्हान गर्नुभयो ।
प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल टेलिकम क्षेत्रिय निर्देशनालयनेपालगंजका निर्देशक प्रकाशमान प्रधानले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा कर्णाली प्रदेशमा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशमा दुईसय २५ ठाउँमा फोर जी को सेवा दिइने छ । अत्याधुनिक फोर जी सेवाले उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेटमा सेवा पु¥याउने छ ।’ निर्देशक प्रधानले कर्णाली प्रदेशमा तिन हजार लाइन जोडिएको र यो आव मा ८०० वटा टावरहरु जडान गरिसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो अबको ‘एकवर्षभित्र यसक्षेत्रमा पाँचसय ५२लाइन एफटीटीएच सेवा वितरण गरिनेछ ।’आगामी दिनमा ग्राहकको माग अनुसार क्षमता वृद्धि गरी वीरेन्द्रनगर जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको रहेको प्रधानले जनाउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न वीरेन्द्रनगर नगरपालिका समेत डिजिटलइज्ड प्रविधियुक्त भएकोमा खुसी व्यक्त गर्नुभयो । वीरेन्द्रनगरका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल र जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले एफटीटीएचको शुभारम्भ गरेकोमा कम्पनीलाई धन्यवाद दिनुभयो ।
नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले एफटीटीएच प्रविधिका विशेषता र वितरणका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।
एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् । यो आईपीमा आधारित सेवा हो ।
प्रकाशित मिति: १६ असार २०७६, सोमबार १३:४६