सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मनिकापुरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलायको आयोजनामा १६ औँ राष्ट्रिय धान दिवसको कार्यक्रम तामझामका साथ चलिरहेको थियो ।
सोही ठाउँका ६३ वर्षिय शेरबहादुर खत्रीले निन्याउरो मुख लाएर कार्यक्रम हेरिरहनुभएकाे थियाे । उहाँ प्रदेश सरकारले धान दिवस कार्यक्रमको आयोजना गर्नुभन्दा किसानहरुलाई प्रयाप्त सिँचाई र मल समयमै दिएको भए छिटै रोपाई हुने कुरा व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘प्रदेश सरकार, स्थानिय सरकार आएपनि हामिलाई अहिलेसम्म केही राहत भएको छैन, वर्खाको बेला हामीलाई सिँचाई र मलको अभाव छ । बरु त्यहीँ दिएको भएपनि हामीले समयमै रोप्न पाउँथ्यौ नी ।’ उहाँ थप्नुहुन्छ ‘सरकारले गरेको धान दिवसको कार्यक्रमले हामिले न सिँचाई पाउने न त मल नै, यस्तो कार्यक्रम गर्नुभन्दा बरु हामिलाई सिचाँई र मलको व्यवस्था गरिदिनु नी ।’ यसो भनिरहँदा शेरबहादुरका आँखा रसाईरहेका देखिन्थे । उहाँलाई समयमै रोप्न नपाएको चिन्ता जो थियो ।
यस्तै अर्का किसान नन्दा बिसीले समयमै पानी नपर्दा राखेको बिउँ सुक्न अवस्था आइसकेको दुखेसो पोख्नुभयाे । उहाँ भन्नुहुन्छ ‘असार १५ लागिसक्दा पनि अहिले सम्म पानी नआउँदा रोप्न सकेका छैनौ । राखेको बिउँ पनि सुक्ने बेला भइसकेको छ, के गर्नु आकाशे पानीको भर पर्दा अहिले सम्म हाम्रो रोपाई हुन सकेको छैन ।’ नन्दालाई समयमै पानी नआउँदा आफ्नो रोपाई नहुँदा दुख लागिरहदा प्रदेश सरकारले धान दिवस मनाइरहेको पटक्कै मन परिरहेको थिएन । उहाँ भन्नुहुन्छ ‘यस्तो कार्यक्रम गरेर हामिलाई के काम भयो र ? बरु यस्को साटो हामीलाई पानी दिएको भए समयमै रोप्न त पाउँथ्यौ नी ।’
आकाशे पानीको भर परेका कर्णाली प्रदेशका किसानहरुले असार १५ अर्थात धान दिवसका दिन रोपाई गर्न समेत सकेका छैनन् । तर प्रदेश सरकारले भने धान दिवस तामझामका साथ मनाई रहेको छ । आकाशे पानीको भरमा रोपाई गर्ने भएकाले समयमा पानी नपरेका कारण खेतमा राखिएको बिउँसमेत सुक्ने अवस्थामा रहेको स्थानिय किसानहरुले दुखेसो गरेका छन् । किसानले धान दिवसका दिन थोरै भएपनि रोपाई गर्नुपर्ने हुन्छ तर सिँचाईको व्यवस्था नभएकाले आजको दिन रोपाई गर्न नसकिएको स्थानिय किसानको भनाई छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ७ प्रतिशत रोपाई गरिएको मन्त्रालयले जनाएको छ । आकाशे पानीको भरमा खेती गर्नुपर्र्नेे बध्यता रहेको कर्णाली प्रदेशका किसानको मागलाई ध्यानमा राखेर सिँचाईलाई प्राथमिकतामा राखेर सरकारले बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । सिँचाई अभावका कारण रोपाई हुन नसकेको पनि सरकारले स्विकारेको छ ।
धान दिवसलाई औपचारीकतामा मात्रै सिमित नगरी धानको उत्पादनमा बृद्धि गरि आयातलाई न्युनिकरण गर्न सकिने भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयाे । कर्णाली प्रदेशमा अधिकांस जिल्लाहरुमा आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने भएकाले समयमा रोपाई हुन नसकेको मन्त्री केसीको भनाई छ । कर्णाली प्रदेशमा रहेका धानको रैथाने बिउहरुको प्रर्वद्धन गर्न पनि आश्यकता रहेको उहाँले बताउनुभयाे । मन्त्री केसीले सिँचाईको अभावमा उत्पादन बृद्धि हुन नसकेका कारण प्रदेश सरकारले यस पटकको बजेटमा सिँचाईलाई प्राथमिकतामा राखेको जनाउनुभयाे । उहाँले सिँचाईकालागि कृषि मन्त्रालयले पनि सवैभन्दा धेरै बजेट सिचाईलाइ छुट्याएको बताउनुभयाे । साविकका कर्णालीमा रोपाई भइसकेका छनभने सुर्खेतमा ६ प्रतिशत रोपाइ भइसकेको उहाँको भनाई छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बध्यता रहेको कर्णाली प्रदेशका किसानको मागलाई ध्यानमा राखेर सिँचाईलाई प्राथमिकतामा राखेर सरकारले वजेट विनियोज गरेको मन्त्री केसीले जनाउनुभयाे ।
कर्णाली प्रदेशमा २ लाख १६ हजार ८ सय ० हेक्टर जमिनमा खेती गरिएको छ । जसमध्ये ६ हजार ३ सय ३५ हेक्टर जमिनमा सिँचाईको व्यवस्था रहेको छ । चालु आर्थिक वर्ष २०७५-०७६ मा कर्णाली प्रदेशका दशै जिल्लाका ३८ हजार ५ सय २७ हेक्टर जमिनमा मात्रै धान खेती गरिएकोमा एक लाख ३१ हजार पाँच सय टन धान उत्पादन भएको कृषि निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
प्रकाशित मिति: १५ असार २०७६, आईतवार १८:३५