काठमाडौँ । सन् २०२० मा दक्षिण कोरियामा रोजगारीका लागि जान लिएको दशौँ कोरियन परीक्षाको नतिजा शुक्रबार सार्वजानिक भएको छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी) र वैदेशिक रोजगार विभागअन्र्तगत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले गएको जेठ २५ र २६ गते लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजानिक भएको हो । सार्वजानिक नतिजा अनुसार १२ हजार ९ जना उत्र्तीण भएका छन । जसमध्ये उत्पादनतर्फ नौ हजार १३३ जना र कृषितर्फ दुई हजार ८७६ जना परीक्षार्थी उत्र्तीण भएका छन ।
वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले कोरिया भाषाको परीक्षाफल सजिलै वेवसाइटमार्फत हेर्न सकिने गरी राखिएको जानकारी दिनुभयो । शाखाका अनुसार दुई दिनसम्म दुई-दुई सिफ्ट गरेर सञ्चालन गरिएको परीक्षाका ९२ हजार ३५६ जना परीक्षार्थीले आवेदन दिएकोमा ८४ हजार १४१ जनाले परीक्षा दिएका छन ।
सन् २०२० मा कोरियाको कृषि र उत्पादन क्षेत्रमा काम गर्न त्यहाँको मानव संशाधन विभागले १० हजार ५० जनाको कोटा निर्धारण गरेको छ । यस वर्ष कृषिमा तीन हजार र उत्पादनमुलक क्षेत्रमा सात हजार ५० जना गरी १० हजार ५० परीक्षार्थी छनोट हुनेछन् ।
सन् २००८ देखि दक्षिण कोरियाले कृषि र सेवामूलक क्षेत्रमा काम गर्न नेपाली श्रमिक लैजान थालेपछि ईपिएसमार्फत कोरिया जान खोज्नेको लर्को लाग्ने गरेको छ । विश्वको विभिन्न १६ देशबाट कोरिया सरकारले श्रमिक लिने गरेको छ ।
यस वर्षदेखि सीप परीक्षा अनिवार्य
ईपीएस कोरिया शाखाका सूचना अधिकारी भण्डारीका अनुसार सीप परीक्षा कहिलेदेखि र कसरी सञ्चालन गर्ने भन्ने विषयमा एचआरडीको टाली नेपाल आउने छ र सोही टोलीले उक्त परीक्षाको निश्चित मापदण्ड तोकेर सञ्चालन गर्नेछ । अहिलेसम्म इपीएस शाखालाई प्राप्त जानकारी भए अनुसार उत्पादनतर्फ र कृषितर्फको परीक्षा छुट्टाछुट्टै लिने भन्ने बुझिएको छ । अघिल्ला वर्षहरूजस्तो यसपालि लिखित परीक्षा पास हुँदैमा कोरियाको रोजगारीका लागि आवेदन दिन योग्य नहुने शाखाले स्पष्ट पारेको छ ।
यो वर्षदेखि सीप परीक्षण अनिवार्य गरिएको भण्डारीले जानकारी दिनुभयो । ‘यो वर्षदेखि सीप परीक्षामा उत्तीर्ण भएकाले मात्र रोजगार आवेदन दिन पाउनेछन् । पहिलेजस्तो लिखित परीक्षा पास गर्दैमा कोरियाको रोजगारीका लागि योग्य हुन सक्दैन उहाँले थप्नुभयो । भाषा परीक्षा र सीप परीक्षणमा उत्र्तीण हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् ।
परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेण्टी भयो भनेर ढुक्क नहुन सूचना अधिकारी भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । ‘कोरियाले नेपालबाट यति श्रमिक लाने भनेर तोकेको हुँदैन, १० हजार ५० त उत्र्तीण गराउने नम्बर मात्र हो, रोजगारदाताको आवश्यकताको आधारमा उत्तीर्ण परीक्षार्थीलाई छनोट गरेर लैजाने गर्छ,’ सूचना अधिकारी भण्डारीले भन्नुभयो ।
प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार १८:४०