सुर्खेत । बेरोजगारलाई रोजगार बनाउन सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेको छैन । कार्यक्रम कतै अलपत्र छ भने कतै पैसामात्रै सक्ने मेसो बनेको छ । झिनामसिना योजना छानेर कार्यक्रमले ‘असारे विकास’ को झल्को दिएको छ ।
सुर्खेतका स्थानीय तहका विभिन्न वडामा यतिखेर प्रधानमन्त्री रोजगार कामदारहरुलाई पहेंलो कपडा लगाएर झिनामसिना काममा खटिएको देख्न पाइन्छ । बाहिर चर्चा गरेअनुसार काम भने भएको छैन । केही स्थानमा सरसफाइ, नाला सफाइजस्ता काममा खटाइएको देख्न सकिन्छ ।
यस कार्यक्रममा दीर्घकालीन फाइदा पुग्ने योजनाभने कमै छन् । काम पनि असार लागेपछि मात्रै थालिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रधानमन्त्री रोजगारका कामदारहरुले यतिबेला सडक नालीको फोहोर उठाइरहेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा शुक्रवारदेखि कामदारलाई वडासडक नालीको फोहोर उठाउन लगाइएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी र वडा अध्यक्ष निलकण्ठ खनालले वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँहरुले यस कार्यक्रमबाट बेरोजगार महिला तथा पुरुषहरुले काम पाउने बताउनुभयो । शुक्रवार झण्डै ३५ जना कामदारले दिनभर हटलाइन सडकको दुवै तर्फको नालीको फोहोर सोहोरिरहेका छन् ।
वडा अध्यक्ष खनालले वडामा झण्डै ५०० बढीले फाराम भरेको जानकारी दिदैं उनीहरुलाई काममा लगाइएको बताउनुभयो । कामदारलाई प्रतिदिन ५२० रुपियाँ ज्याला तोकिएको छ । वडा सदस्य कृष्णप्रसाद गौतमले कार्यक्रममा आवद्ध कामदारलाई वडाका सडकका नालीको फोहोर उठाउने काममा लगाइएको जनाउनुभयो । वडामा कार्यक्रमका लागि वडा नं. ४ मा पाँच लाख बजेट आएको छ ।
यसैगरी केही दिन अघि नगरको वडा नं. ७ मा पनि सो कार्यक्रम लागू भएको छ । उक्त वडाका कामदारलाई पनि फोहोर उठाउने, झार उठाउने काममा लगाइएको छ । नगरका अन्य वडाहरु पनि उक्त कार्यक्रम क्रमशः लागू गर्दै जाने बताइएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एक करोड बजेट आएको छ ।
नगरका १६ वटा वडाहरुलाई पाँच लाखको दरले कार्यक्रम संचालन गर्न भनिएको नगरपालिकाले जनाएको छ । वडाहरुले आफ्नो आवश्यकता र माग हेरेर रचनात्मक र प्रभाव देखिने कार्यक्रमहरु बजेटको सीमाभित्र रहने गर्ने काम गर्ने बताइएको छ ।
प्रकाशित मिति: १३ असार २०७६, शुक्रबार १५:३९