सुर्खेत । पारिवारिक खटपट भए पनि यसअघि सम्बन्ध विच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । तर पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्ध विच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । जिल्ला अदालत सुर्खेतले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मलेन गरेर सो कुराको जानकारी दिएको छ ।
नयाँ मुलुकी सहिंता जारी भएसँगै जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ताको चाप बढेको छ । अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् ।
गत जेठ मसान्तसम्म सम्बन्ध विच्छेदका ५४५ वटा मुद्दा दर्ता भएको श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यो वर्ष मुद्दा दर्ताको अनुपात ह्वात्तै बढेको उहाँले बताउनुभयो । ‘गत आर्थिक वर्ष ४०१ मुद्दा मात्र दर्ता भएका थिए,’ उहाँले भन्नुभयो, ‘गत वर्ष भन्दा यस वर्ष सम्बन्ध विच्छेदका मुद्दा आउने क्रम दोब्बर छ ।’
अदालतमा सम्बन्धविच्छेदका मुद्दा मात्र ५४५ दर्ता भएको उहाँले बताउनुभयो । जसमध्ये नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्ध विच्छेदका मुद्दा ११७ छन्भने महिलाबाट आएका सम्बन्ध विच्छेदका मुद्दा ३३० रहेका छन् ।
‘पीडा दबाएर बसेका पुरुषहरू पनि भदौमा नयाँ कानुन आएपछि सम्बन्ध विच्छेद गर्न अग्रसर देखिएका हुन,’ श्रेस्तेदार भण्डारीले भन्नुभयो, ‘सम्बन्ध विच्छेद अहिले फेशन भएको छ, सम्बन्ध विच्छेद गर्न पति पत्नी बीच प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।’
सम्बन्ध विच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको, खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेको उहाँको भनाइ छ । तर, वास्तविकता त्योभन्दा फरक भएको भण्डारी बताउँनुहुन्छ । ‘पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमान्हरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्ध विच्छेद गर्ने गरेको देखिएको छ,’ भण्डारीले भन्नुभयो, ‘बर्षेनी सम्बन्ध विच्छेद गराउनेको संख्या डरलाग्दो रुपले वृद्धिभइरहेको छ । अहिले त पुरुषको संख्या पनि बढ्यो ।’
सम्बन्ध विच्छेदको अर्को कारण बालविवाह पनि देखिएको भण्डारी बताउँनुहुन्छ। ‘लहलहैमा लागेर कलिलै उमेरमा बालविवाह गर्छन् । जिम्मेवारी बढेपछि सम्हाल्न नसकेर सम्बन्ध विच्छेदका लागि आउँछ,’उहाँले भन्नुभयो ।
यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्ध विच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्ध विच्छेदमा अग्रसर हुने गरेको जिल्ला न्यायाधीश प्रलादकुमार योगीले बताउनुभयो । ‘सामाजिक सञ्जाल, बैदेशिक रोजगारी, एक–अर्काप्रतिको बुझाईमा फरक आउनु, बालविवाह सम्बन्ध विच्छेदका मुख्य कारण बन्ने गरेको,’ योगीलेभन्नुभयो ‘सम्बन्ध विच्छेद गर्न आउनेहरूमा प्रेम बिवाह गरेकाहरू पनि उत्तिकै छन् ।’
पती पत्नी बीच समझदारी हुन नसक्दा, सम्बन्ध विच्छेदमा गएर टुंगो लाग्ने गरेको उहाँले बताउनुभयो । ‘सानो कुरामा विवाद गरी ठुलो बनाउँने, मेलमिलाप गर्नुलाई आफ्नो अपमान भएको ठान्छन्, त्यसैले विच्छेद गर्नेको संख्या बढेको हो,’ उहाँले भन्नुभयो । सम्बन्ध विच्छेदपछि उनीहरूका बालबच्चाको बिचल्ली हुने गरेको छ । परिवार र समाजमा नराम्रो प्रभाव पार्ने गरेको उहाँले सुनाउनुभयो ।
जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदपछि घरेलु हिंसामा २९, मानाचामल÷खाना खर्चमा ४४, जवरजस्ती करणीमा ५५, करणी उद्योगमा १५, बहुबिवाहमा ४२ वटा मुद्दा दर्त भएका छन् ।
प्रकाशित मिति: ११ असार २०७६, बुधबार २०:३९