सुर्खेत । नेपाल शिक्षक संघ कर्णाली प्रदेशले एसईई तथा कक्षा ११ र १२ को परीक्षाको होम सेन्टर प्रणाली खारेज गर्न माग गरेको छ । होम सेन्टर प्रणाली विद्यार्थीहरुका लागि खर्चिलो र बोझिलो हुने भएकोले उक्त प्रणाली खारेज गरी केन्द्राध्यक्ष र निरीक्षकहरुलाई अदलवदल गर्नुपर्ने नीति बनाउन संघले माग गरेको हो ।
कर्णाली प्रदेशको पहिलो प्रतिनिधिसभाले असार ७ र ८ गते मुगुको रारामा गरेका निर्णयहरु बुधवार सुर्खेतमा सार्वजनिक गर्दै संघले होम सेन्टर खारेज गरी विद्यार्थीको सट्टा केन्द्राध्यक्ष र निरीक्षकहरु फरक विद्यालयमा खटिनुपर्ने निर्णयका लागि लविङ र दवाव दिने निर्णय समेत गरेको जनाएको छ ।
यसैगरी कर्णालीजस्तो भौगोलिक पूर्वाधारको अभाव र विकटताले विद्यार्थी संख्या कम भएका विद्यालयहरु मर्ज गरी सुविधा सम्पन्न ठूला आवासीय विद्यालय संचालन गर्नुपर्ने, सरकार र शिक्षक महासंघ वीच भएका ३० बुँदे सम्झौताहरु पालना गर्नुपर्ने, संघीय, प्रदेश, कार्य व्यवस्था समिति र सचिवालयले गरेका निर्णयहरु अनुमोदन तथा कार्यान्वयन गर्ने, स्थानीय तहबाट शिक्षकहरुमाथि भएका सुरुवा नियुक्तिजस्ता ज्यादतिका विरुद्ध विरोधका कार्यक्रमहरु संचालन गर्ने निर्णय पनि गरिएको संघले जनाएको छ ।
संघका अध्यक्ष इलमबहादुर शाहीका अनुसार कर्णाली प्रदेश लगायत दुर्गम जिल्लाहरुमा शिक्षकहरुको स्थानीय भत्तामा बर्षे÷मीनपचासको विदाको रकम कटौती गरेकोमा आन्दोलनमार्फत माग पूरा गर्ने प्रक्रियामा जाने, शिक्षक सहकारी अभियान प्रदेशका १० वटै जिल्लामा पुर्याउने, प्रदेशभर नेतृत्व क्षमता र संगठन निर्माणका साथै द्वन्द्व व्यवस्थापन तािलम तथा प्रशिक्षण संचालन गर्ने, संघको सदस्यता नवीकरणसहितका नियमित कार्यक्रमहरु तोकिएको मितिभित्र सम्पन्न गर्ने, कर्णाली प्रदेश तथा स्थानीय तहमा शैक्षिक नीति निर्माणमा नेपाल शिक्षक महासंघको सहभागिता अनिवार्य गराइनुपर्ने निर्णयपनि प्रदेशको पहिलो प्रतिनिधिसभाले गरेको छ ।
यस्तै सुर्खेतदेखि रारा तालसम्मको सडक सुधार गर्न प्रदेश तथा स्थानीय तहलाई आग्रह गरिएको छभने रारातालको प्रचारप्रसारमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । साथै रारामा संघको सभा सम्पन्न गर्न सहयोग गर्ने सामाजिक विकास मन्त्रालयल गायत सुर्खेत, दैलेख, कालीकोट, जुम्लाका स्थानीय तह, शिक्षक संघहरुलाई पनि धन्यवाद दिने निर्णय गरेको संघले जनाएको छ ।
प्रकाशित मिति: ११ असार २०७६, बुधबार १७:३१