सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका सुर्खेतले पूर्वाधार, शिक्षा, सामाजिक विकास र स्वास्थ्यलाई प्राथमिकतामा राखेर आव २०७६-०७७ का लागि एक अर्व २० करोड ७९ लाख तीन हजार चार सय रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
जसमध्ये पुँजीगत तर्फ ४५ करोड ३ लाख १२ हजार र चालू खर्च ७४ करोड ९३ लाख ३८ हजार ४ सय बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा आन्तरिक आर्य तर्फ १३ करोड ९० लाख ९२ हजार प्रक्षेपण गरिएको छ ।
त्यसैगरी संघीय सरकारको वित्तिय समानीकरण अनदुान रु २४ करोड २३ लाख, संघिय सरकारको राजश्व बाँडाफाँड मार्फत प्राप्त हुने रकम १८ करोड २१ लाख, संघीय सरकारको सर्शत अनुदान ३५ करोड ९ लाख, वित्तिय सामानीकरण प्रदेश १ करोड १९ लाख ६७ हजार, सवारी कर बाँडफाँड (प्रदेश) ३० लाख १३ हजार, सामाजिक सुरक्षा तर्फ नेपाल सरकारबाट प्राप्त हुने अनुमानित रकम २० करोड ४२ लाख ७८ हजार ४ सय, अन्य कोष (साझेदारी कोष) तर्फ ८२ लाख ८० हजार, गत आवको मौज्दात क्रमागत योजना समेत ६ करोड ६० लाख समेत गरी १अर्व २० करोड ७९ लाख ३० हजार ४ सय बजेट विनियोजन भएको छ ।
“मैले खोजेको अधिकार, मेरा लागि महिला स्वरोजगार” भन्ने नाराका साथ महिला स्वरोजगार कार्यक्रमलाई वीरेन्द्रनगर नगरपालिकाले यसवर्ष पनि निरन्तरता दिएको छ ।
नगरसभामा शिक्षा, स्वास्थ्य, खेलकुद, पुर्वाधार विकासलाई विशेष जोड दिइएको छ । आर्थिक विकास निति कार्यक्रममा नगरपालिका भित्र पर्ने धार्मिक, पर्यटकिय स्थलहरुको विकासमा क्षेत्रगत विकास गरिने नगरपालिकाको योजना छ । शहिदपार्क देखि गढी गोठिकाडाँसम्म पर्यटन पदमार्गको विकास गरिने नगरपालिकाको योजनामा रहेको छ ।
यस्तै युवालाई लक्षित गरि स्वरोजगार एंव आयआर्जन कार्यक्रम गर्ने केन्द्र, प्रदेश सरकार र विभिन्न संस्थासँग सहकार्य गर्ने निति लिइने, महिला स्वरोजगार सिर्जना गर्नका लागि सहकारी, प्रदेश सरकार र संघिय सरकारसंग सहकार्य गर्दै विभिन्न रोजगारमुलक कार्यक्रम लागु गरिने, महिलाको नाममा सम्पत्ति प्राप्त हुनेगरि गरिने सिफारिस एंव प्रमाणित शुल्क दस्तुरमा ३५ प्रतिशत छुट दिइने नगरपालिकाको योजना छ ।
नगरसभाले शिक्षामा एक वडा, एक नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन गर्ने, वडागत विशिष्टकृत व्यवसायिक तथा प्राविधिक विद्यालयहरु स्थापना गरि सञ्चालन गर्ने, विद्यालयहरुको स्तरोन्नतीको लागि विद्यालय स्तरीकरण कार्य अविलम्व सञचालन गर्ने र मेघा विद्यालय सञ्चालनमा जोड दिइने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षक क्षमता विकास शिक्षण सिकाई क्रियाकलाप विद्यार्थी मुल्याङ्कनमा नव प्रवर्तनकारी निति र कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिने छ ।
यस्तै खेलकुदतर्फ प्रदेश सरकार र नगरपालिकाको साझोरीमा एक विशिष्टिकृत रंगशाला निर्माण गरि नगरपालिका क्षेत्रमा प्रदेश स्तरको खेलकुद पूर्वाधार निर्माण गर्ने, नगरपालिका स्तरिय मेयर कप तथा उप मेयर कप आयोजना गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, नगरपालिकाका प्रत्येक वडाहरुमा एक खेलमैदान निर्माण कार्यक्रम अघि बढाईने भएको छ ।
स्वास्थ्यतर्फ गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनलाई निरन्तरता दिँदै प्रभावकारी बनाइने, प्रत्येक स्वास्थ्य केन्द्रबाट महिनामा एक प्याकेटका दरले महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्नेे, नगरपािलका भित्रका गर्भवती महिलाहरुलाई प्रसुतिको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ ।
पुर्वाधार विकातर्फ शहर व्यवस्थापन वर्षको रुपमा कार्यान्वयन गरिने, नगरपालिकाको हालसम्म पनि विद्युत प्रशारणलाई विस्तार नभएका वडा नम्वर १५ र १६ मा विद्युत लाइन विस्तार गरिनुका साथै उपत्यकाभित्रका सडकहरुमा टोल विकास संस्थाहरुलाई परिचालन गरी सडक बत्ती बाल्ने व्यवस्था गरिने भएको छ ।
यस्तै नगरसभामा “दिँदैन म फोहर, घरमै बनाउँछु मोहर” भन्ने अभियानका साथ नगरपालिकाका केही वडाहरुमा शुन्य फोहर उन्मुख नितिगत तथा संस्थागत क्षमताको विकास गरिने, आ.व. २०७६ – ०७७ मा कम्तीमा २५ वटा टोलको फोहर संकलनमा कम्तीमा ५० प्रतिशत कमी ल्याउने, उपत्यका भित्रका कम्तीमा ५ महत्वपुर्ण स्थापना सार्वजनिक शौचालय निर्माण गर्न सहयोगी संस्था तथा निजि क्षेत्रसंग सहकार्य गरिने, काक्रेविहार क्षेत्रलाई पर्यटकिय क्षेत्रकाे रुपमा विकास गर्नका लागि कांक्रेविहारलाई चिडियाखानाको रुपमा विकास गर्ने र सो क्षेत्रमा रहने बन्यजन्तु तथा चराचुरुङ्गीहरुको बासस्थान, पानीको व्यवस्थापन गर्ने, गत नगरसभाको नितिलाई निरन्तरता दिइनुका साथै सो कार्यलाई पुर्णता दिन संघिय सरकार र प्रदेश सरकारसंग पहल गरिने भएको छ ।
प्रकाशित मिति: १० असार २०७६, मंगलवार १९:२९