काठमाडौँ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला निकायले सक्रियता देखाएका छन् ।
भ्रमण वर्षलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको सन्दर्भमा सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनको उपयुक्त अवसर रहेकाले यसलाई सफल पार्न सबै क्षेत्रको सहयोग चाहिने खाँचो औंल्याउनुभएको छ । राष्ट्रिय पर्यटन पत्रकार सङघ (नाटोज)को छैठौँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले भ्रमण वर्षलाई अवसरको रुपमा लिएर प्रवद्र्धनको अभियानलाई प्रभावकारी बनाउन सबैको सक्रियता चाहिने बताउनुभयो ।
“भ्रमण वर्षबारे केही व्यवसायीले चिन्ता व्यक्त गर्नुभएको छ, यतिबेला चिन्ता र गुनासो हैन कसरी प्रभावकारी बनाउने भन्नेबारे चिन्तन मनन गर्न जरुरी छ । यो अवसरको सदुपयोग गरी परिणाममुखी बनाउन सरकार तथा व्यवसायी जिम्मेवार भएर लाग्नुपर्छ ।” संरक्षण क्षेत्रमा जाने पर्यटकको आकर्षण बढ्दै गएको तथा नेपाल घुम्न आउने पर्यटकमध्ये करिब ६० प्रतिशतले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा भ्रमण गर्ने गरेको मन्त्री वस्नेतले तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
प्रवेशका लागि दोहोरो शुल्क लिने गरेको व्यवसायीको गुनासोको जवाफ दिँदै मन्त्री वस्नेतले संरक्षित क्षेत्रको संरक्षण, वातावरण सहज र पर्यटनमैत्री बनाउनका लागि व्यवस्थित गर्ने काम भएकाले अन्तरमन्त्रालय छलफल गरी शुल्कमा एकरुपता ल्याइने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन, व्यावसायिकरण तथा सेवा स्तरीकरणका लागि सम्बन्धित निकायको सहयोग र समन्वयको खाँचो औँल्याउनुभयो । “जतिसक्दो चाँडो प्रवद्र्धनका गतिविधि सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भ्रमण वर्षलाई ध्यानमा राखेर पर्यटकीय पूर्वाधार विकास, गुणस्तरीय सेवा तथा नयाँ गन्तब्य पहिचान र प्रवद्र्धनका कामलाई प्राथमिकता दिइएको बताउनुभयो । भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । भ्रमण वर्षको प्रवद्र्धनको समयावधि थोरै रहेकाले विवाद र उल्झनबाट टाढिएर प्रवद्र्धनका कार्मलाई प्रथमिकताका साथ अघि बढाउनुपर्ने व्यवसायीको माग छ ।
भ्रमण वर्ष सन् २०११ का राष्ट्रिय कार्यक्रम संयोजसमेत रहिसक्नुभएका वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यले तत्कालीन भ्रमण वर्ष अयिभानका चुनौती र सम्भावनाको अनुभव सुनाउनुभयो । “अघिल्ला दुई भ्रमण वर्ष सन् १९९८ ‘भिजिट नेपाल’ मनाउँदा पर्यटन क्षेत्रमा सबै क्षेत्रले गालीमात्रै गर्ने र सन् २०११ को नेपाल भ्रमण वर्ष मनाउँदा विभिन्न पक्षको त्रास बेहोर्नुपर्ने अवस्था थियो । अहिले स्थिर सरकार छ । पर्यटकीय पूर्वाधार धमाधम बन्दैछ, त्यसैले चुनौती हैन भ्रमण वर्षका लागि उपयुक्त अवसर छ । यसलाई साझा अभियानको रुपमा अघि बढाउन जरुरी छ,”–उहाँले भन्नुभयो ।
भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्ष मनाएर उल्लेख्य संख्यामा बाह्य पर्यटक आकर्षित गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनका विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । उहाँले भ्रमण वर्ष अभियानअन्तर्गत पर्यटन लगानी सम्मेलन, भारत र चीनमा नेपाल प्रवद्र्धनलगायत कार्यक्रम गरिने उल्लेख गर्नुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले स्थिर सरकार गठन भएको र पर्यटकीय पूर्वाधार निर्माणले तीब्रता पाइरहेको सन्दर्भमा भ्रमण वर्ष घोषणा आफैमा अवसर भएको बताउनुभयो ।
पर्यटन व्यवसायी कमल सापकोटाले भ्रमण वर्षलाई सार्थक बनाउन नयाँ गन्तब्य प्रवद्र्धन र गाउँसम्म पर्यटन विस्तारका कार्यक्रम चलाइनुपर्ने खाँचो औंल्याउनुभयो । नाटोजका अध्यक्ष शिव अधिकारीले भ्रमण वर्षलाई राष्ट्रिय पर्वकै रुपमा अघि बढाउन सबै क्षेत्रको सक्रियता चाहिने बताउनुभयो । सो अवसरमा सगरमाथा आरोही कल्पना महर्जन तथा पर्यटन क्षेत्रमा योगदान गर्ने
विभिन्न व्यवसायीलाई सम्मान गरिएको थियो । रासस
प्रकाशित मिति: १० असार २०७६, मंगलवार ०८:३८