सुर्खेत । लघु उद्यमीहरुलाई घरेलु वस्तुको उत्पादनमा सघाउन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा औद्योगिकग्रामको काम तिव्र गतिमा बनिरहेको छ ।
कर्णालीका करिब ७ सय उद्यमीलाई रोजगार बनाउने उद्देश्यले बन्न लागेको ग्रामको करिब ४५ प्रतिशत काम सकिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय सुर्खेतले जनाएको छ ।
सरकारी तथा निजी साझेदारीमा निर्माण गर्न लागिएको यो ग्रामका सात वटा भवन हुने कार्यालयका निर्देशक शम्भु पौडेलले बताएका छन् । उनले ग्रामका चार वटा भवनको सम्पूर्ण काम सकिएको जनाए । उनले भने ‘चार वटा भवनको छानो हाल्न बाँकी छ,’ दुईवटाको डिपीसी भईसक्यो, अर्काे एउटा भवनको काम भर्खर सुरुवात गरेका छौँ ।’
ग्राममा सडक, विद्युत, पानी, यातायात तथा पार्किङ सुविधा सहितको आधुनिक प्रविधि हुने निर्देशक पौडेलले बताए । यी भवनमा विपन्न तथा सीमान्तकृत वर्गका व्यवसायीले आफ्ना व्यवसायहरु सजिलै सञ्चालन गर्न सक्ने उनले जनाए ।
चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट मध्ये हालसम्म दुई करोड ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको निर्देशक पौडेलले बताए । उनले भने ‘ग्राम निर्माण प्रक्रिया तिव्र गतिमा भइरहेको छ, यही गतिमा काम हुने हो भने ०७७ सालको फागुन अन्तिममा काम सकिन्छ ।’ ग्राम निर्माणका लागि भ्याट बाहेक ६ करोड ४१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड) इन्क्लुडसँगको समन्वयमा औद्योगिकग्रामको निर्माण योजना अघि सारिएको हो । निर्माणाधीन औद्योगिकग्राम अत्याधुनिक सुविधासहितको भूकम्प प्रतिरोधात्मक हुनेछ । करिव साढे तीन विगाहा क्षेत्रफलमा निर्माण गर्न लागिएको ग्राममा जम्मा ६६ वटा सटरहरु हुनेछन् ।
ग्राममा हर्वल ब्लक, मिनरल, परम्परागत उद्योग, उत्पादनमूलक उद्योग र कृषि उद्यम रहने छ । ‘अहिले नै यी उद्योग संचालनमा आउँछन् भन्न त सकिँदैन,’ निर्देशक पौडेलले भने, ‘उद्यमीहरुले के उत्पादन गर्छन् त्यसमा भर पर्छ, संचालक समिति बनेपछि थाहा हुन्छ ।’ व्यावसायिक अनुसन्धान केन्द्र, मेडिकल केयर, डे–केयर सेन्टर, प्ले–ग्राउण्ड, पाँच सय जना अट्न सक्ने हल तथा पाँच वटा सुविधा सम्पन्न सेल्टर पनि ग्राममा रहने बताइएको छ ।
योजना अनुसार ग्रामको चारैतर्फ विभिन्न भवनहरु निर्माण गरिने छ । सोही भवनका बाहिरतर्फ सटर राखेर उत्पादित बस्तुहरु विक्रीवितरण गर्न सकिनेछ । भित्र उत्पादन गर्नका लागि छुट्टै कक्षहरु रहनेछ । भिलेज निर्माण पश्चात् लघु उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको उत्पादन तथा सहज बिक्रीवितरण सँगै बजारीकरणमा सहयोग पुग्ने अपेक्षा कार्यालयको छ । ‘ग्राममा उद्योग मात्रै संचालन हुन्छन्,’ निर्देशक पौडेल भन्छन्, ‘विक्रीवितरण गर्न भने बाहिर जानुपर्नेछ ।’
निर्देशक पौडेलका अनुसार उद्यमीहरुले ग्रामका सटरहरु भाडामा लिएर साना व्यवसाय सञ्चालन गर्न सक्नेछन् । जिल्लाका करिव सात सय बढी बेरोजगार युवाहरुलाई ग्रामले रोजगारी दिलाउने उनकोे दाबी छ ।
प्रकाशित मिति: ३ असार २०७६, मंगलवार १३:३१