काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीलाई कुदृष्टि लाउनेहरुको कहिल्यै भलो नभएको इतिहासले देखाएकाे बताएका छन् । उनले गुठीलाई समाप्त गर्ने गरी ल्याएकाे गुठी विधेयकले केपी ओली नेतृत्वको सरकारको दिनगन्ती शुरु भएको बताए । गुठी विधेयकको विरुद्धमा आइतबार कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै उनले पशुपतिनाथ चलाउन खोज्दा तत्कलिन प्रधानमन्त्री पुष्पकमल दाहाल र कुमारीजात्रालाई चलाउन खोज्दा बाबुराम भट्टराईको हालत के भयो ? भन्दै बुझ्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिए । उनले सामाजिक सहिष्णुतालाई विथोल्नका लागि गुठीसम्बन्धि विधेयक ल्याएको आरोप लगाए ।
कांग्रेस नेता सिंहले संविधानको मर्म र भावना विपरितको गुठी विधेयक विरुद्ध संसदमा कुरा उठाइरहेको कांग्रेस आजबाट सडकमा पनि विरोधमा उत्रिएको बताए । “गुठीमा जसले कुदृष्टि राख्छ त्यसको कहिल्यै भलाई भएको छैन । ओली सरकारको पनि दिनगन्त शुरु भइसकेको छ । यसको राम्रो छैन भविष्य,” नेता सिंहले भने“यो सरकारलाई आफुले गरेको गल्ति सच्याउने मौका दिनुपर्छ । यदि सच्चिएन भने जनताको मतबाट आएको सरकार जनताले नै त्यसको टुँगो लगाउँछन् । सरकारले गम्भिर भएर सोचोस् ।”
काठमाडौंका जनतालाई सामन्तीको संज्ञा दिइएको प्रति आपत्ती जनाउँदे उनले काठमाडौंवासीले विकसित गरेको संस्कृति, परम्पराले नै नेपाललाई विश्वमा चिनाएको स्मरण गराए । नेपालको मूल धमृसास्कृतिलाई नै समाप्त गर्ने मनसायले गुठी विधेयक ल्याइएको भन्दै धर्म,संस्कृतिको रक्षा गर्न काठमाडौंवासीलाई उठ्न पनि आग्रह गरे । नेता सिंहले गुठी विधेयकविरुद्ध बिभिन्न संघ संस्थाले सुरु गरेको आन्दोलनमा कांग्रेसको पूर्ण साथ समर्थन रहेको पनि बताए ।
विरोधसभामा कांग्रेस काठमाडौंबाट निर्वाचित सांसदहरु भिमसेनदास प्रधान, गगन थापा, राजेन्द्र केसी, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नविन्द्रराज जोशीपनि सहभागि थिए ।
गुठी विधेयकको विरुद्धमा आइतबार कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै कांग्रेस नेता सिंह
प्रकाशित मिति: १ असार २०७६, आईतवार २०:३५