सुर्खेत । आकाशे पानीको भरमा खेती गरिने कर्णाली प्रदेशमा खडेरीका कारण किसानहरुले बिउराख्न सकेका छैनन् । सिँचाइको सुविधा नहुँदा यहाँका किसानहरुलाई धानको बिउ राख्न समस्या हो ।
आकाशे पानीको भरमा खेती गर्ने कर्णालीमा यस वर्ष बिउ राख्ननै मुस्किल भइरहेको छ । गत वर्ष यतिवेला किसानहरुले बिउ राखेर केही स्थानमा रोपाईसमेत गरिसकेका थिएभने अहिले चर्को खडेरी भएकाले खेती योग्य जमिन फुटेका छन् । असार लाग्ने बेला पानी परेन भने यस वर्ष रोपाई ढिला हुने र उत्पादनमा कमि हुने किसानको भनाई छ ।
लामो खडेरीले कुलो सुक्दै गएका कारण ब्याडमा बिउ राख्न समेत नसकिएको विरेन्द्रनगर–९ लाटीकोइलीका किसान सूर्यलाल चौधरीले बताए । उनले भने, ‘पोहोर साल छिटो पानी परेका कारण यतिबेला बिउ राखिसकेका थियौ, तर अहिले पानी नपर्दा कुलो पनि सुकिसकेको छ र बिउ राख्न निकै गाह्रो भएको छ ।’
आकाशे पानीको भरमा खेती गर्ने भएकाले यस वर्ष अहिलेसम्म पनि पानी नपरेका कारण ब्याडमा रहेको बिउ समेत सुक्न थालेको किसान जंगलाल चौधरीले दुखेसो गरे । आकाशे पानीले यो वर्ष धोका दिएको उनको भनाई छ । उनी भन्छन्, ‘फागुन, चैतमा आएको पानीले गँहु, मसुरो र चना विगा¥यो, अहिले पानी नआएर धानको बिउ बिग्रन्छ की भन्ने चिन्ताले सताएको छ ।’
सिँचाइ नहुँदा आकाशे पानीको भरमा बिउ राख्नु पर्ने किसानहरुको बाध्यता रहेको किसान आसाराम थारुले बताए । उनले पानी नपरेका कारण बिउबिग्रन्छकी भन्ने चिन्ता लागेको जनाए ।
खडेरीका कारण सुर्खेतका खेती योग्य जमिनमा ७ प्रतिशत बिउ राखेको नगर कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका किसानले जहाँ पानीको सुविधा छ त्यहाँ मात्रै बिउ राख्न सकेको नगर कृषि विकास कार्यालय वीरेन्द्रनगरका प्रमुख प्रेमदेव गिरीले बताए ।
सुर्खेतमा १४ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसबाट ५४ हजार १ सय ५२ मेट्रिक टन धान उत्पादन हुन्छ । कर्णाली प्रदेशमा सिँचाइको व्यवस्था २६ प्रतिशत खेती योग्य जमिन रहेको कृषि कार्यालय सुर्खेतले जनाएको छ ।
बिउ राखेका स्थानहरुमा पानी अभाव कारण सुख्खा भएको उनले जनाए । रोपिएका बिउहरुसमेत सुक्ने अवस्थामा पुगेका छन् ।
प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहीबार १५:१४