सुर्खेत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनका बखत कांग्रेस पार्टी सभापतिले कम्युनिष्टले जिते रुन पनि पाइन्न भनी दिएको अभिव्यक्तिको विरोध गर्नेहरु नै अहिले मिडिया काउन्सिल विद्येयक आयो भनेर रुवावासी गरेको टिप्पणाी गरेका छन् । उनले भने, हिजाे रुन पाइन्न भन्दा प्रेसले विराेध गर्याे, अहिले त्यही प्रेस मिडिया काउन्सिल विद्येयक आयाे भनेर रुवावासी गरेकाे छ । कांग्रेस सभापति देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्युनिष्टले जिते नेपाली जनताको रुने अधिकार समेत खोसिने टिप्पणी गरेका थिए ।
नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले कम्युनिष्ट सरकारले ल्याएको मिडिया काउन्सिल मानवअधिकार लगायतका विद्येयक जनताको रुने अधिकार खोसिने अन्तर्गत आएको टिप्पणी गरेका हुन् ।
कांग्रेसले नै संविधान जारी गरेको हुँदा त्यसको पालना र रक्षा गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै भएको भन्दै उनले संविधानमाथि धावा बोल्नेका विरुद्ध कांग्रेस जाइलाग्ने बताए । प्रदेशका मुख्यमन्त्रीहरुले नै काम गर्ने वातावरण नभएको भनि दिएका टिप्पणीले ओली नेतृत्वको सरकार संघीयता र संविधान कार्यान्वयनको विपक्षमा रहेको प्रष्ट हुने दावी गरे ।
उनले संसदमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको दावी गरे । नेता सिंहले दुई तिहाईको सरकारले गरेको मनपरी र अधिनायकवाद शैलीको कदमको सशक्त प्रतिकार गर्दै आएको बताए ।
ओली सरकारले एक पछि अर्को गर्दै विभिन्न विधेयकहरु ल्याएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै नेता सिंहले त्यसका विरुद्ध कांग्रेसले संसदमा सशक्त प्रतिकार गरेको उल्लेख गरे ।
नेता सिंहले विगतको इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् । उनले कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म विगतको इतिहासलाई भजाएर आफूतिर तान्न नसकिने उल्लेख गरे ।
पूर्व महामन्त्री सिंहले कांग्रेस आफू पनि सच्चिन तयार रहनुपर्ने बताए । उनले २००७ साल, २०३६ साल, २०४६ सालको इतिहास भजाएर जनताले विश्वास गर्न नसक्ने र त्यसका लािग पार्टीभित्रको संस्थागत सुधार गरेर, विधि विधानबाट चलाएर मात्रै कांग्रेस एकढिक्का बनाउनुपर्ने उल्लेख गरे ।
नेता सिंहले गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताहरुले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्नेजस्ता सुझावहरु आएको हुँदा नेतृत्व तहले गम्भीर भएर सोच्नुपर्ने र त्यही अनुसार परिवर्तन गर्नुपर्ने जनाए । उनले नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी, पूर्व मन्त्री खड्गबहादुर बस्याल, पार्टीका पूर्व सभापति गोविन्दबहादुर मल्लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २६ जेष्ठ २०७६, आईतवार १२:१८