मुगु । मुगु देखि हुम्लाको देउली जोड्ने जम्मा ६७ किलोमिटर सडक मध्ये ४५ किलोमिटर मोटर बाटोको निर्माण कार्य सकिएको छ । बेलायत सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त मोटर बाटो खनिएको हो ।
सडक खन्नका लागि रोड प्रभाबित क्षेत्रका छायाँनाथ रारा नगरपालिका भित्रका रुगा, थार्प,बाम र लुम गाउँका बासिन्दाहरु ४ वटा उपभोक्ता समिति मार्फत सडक खन्ने कार्यमा जुटेका छन् ।
प्रत्येक समितिमा २० जना सदस्य रहने गरि जम्मा ६२ वटा सडक निर्माण समूह मार्फत सडक खन्ने काम भैरहेको ग्रामिण पहुँच कार्यक्रमका फिल्ड ब्यबस्थापक सुनिल तण्डुकारले जानकारी दिनुभयो ।
कुल सडक निर्माण खर्च १ अर्व ७१ करोड ८५ लाखरुपयाँ लागत रहेको उक्त सडक खण्ड निर्माणको लागि हाल सम्म ११ करोड रुपयाँ खर्च भएको बताईएको छ । सडक खन्ने कामका लागि ३३ प्रतिशत महिला सहभागिता रहेको छ भने सडक निर्माणको काममा लागेका रोड प्रभाबित क्षेत्रका महिला तथा पुरुषहरुको आयश्रोतमा समेत बृदि भएको छ ।
जम्मा १२ सय साठी जना कामदारहरुले काम गरिरहेको उक्त सडक ४.५ मिटर चौडाई रहेको छ भने नाला आबश्यक भएको ठाउँमा मात्र ५ मिटर चौडाईको सडक बनाईएको छ ।
मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्लाको चंखेली गाउँपालिका वडा नं २ देउलीसम्म २०७७ साल बैशाख सम्ममा बाँकी २२ किमी सडक सम्पन्न गरि संबन्धित निकायलाई हस्तान्तरण गरिने ग्रामिण पहुँच कार्यक्रमले जनाएको छ ।
मुगु कर्णाली नदीमा पुल बनेको खण्डमा २०७७ साल बैशाख सम्म हुम्लाको तल्लो भेग देउली, दार्मा, मिमि, सलिसल्ला लगायतका ठाउँहरु औपचारिक रुपमा सडक सञ्जालमा जोडिने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलवार १५:४२