काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान अनुसारको पार्टीको संरचना नभएसम्म पार्टीले सञ्चालन गर्ने अभियान प्रभावकारी हुन नसक्ने बताएका छन् । उनले कांग्रेस आफैंले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनु पर्ने अवस्थामा झनै आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीहरुमा समेत निराशा छाएको बताए ।
संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले सो भनाइ राखेका हुन् ।
कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्र्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए । कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ । उनले यसलाई गम्भीरतापूर्वक लिनु पर्नेमा जोड दिए ।
मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बना भएको उनले बताए । मुलुकमा रहेका तमाम चुनौतिहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्र्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुःखद हो, उनले भने ।
पार्र्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्याे भनेर आफूलाई आरोप लाग्ने गरेको गुनासो उनले गरे । नेता सिंहले भने, पार्र्टी कमजोर भयो, कार्यकर्तामा निराशा छायो, पार्र्टी बलियो र प्रभावकारी बनाउनु पर्यो, यही ढर्राले पार्र्टी चल्न सक्दैन, जनआकर्षण बढाउन सकिँदैन भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आरोप लगाउनेहरु पनि छन् ।
नेता सिंहले नेपाली कांग्रेसलाई सुधार्नका लागि जस्तोसुकै चुनौति झेल्नु परेपनि पछि नपर्ने दृढता व्यक्त गरे । सशक्त मजबुत पार्र्टी निर्माणको अभियानमासाथ दिन पनि उनले सबैमा अपिल गरे ।
कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले व्यक्तिलाई नभई पार्र्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
भेटघाटमा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापतिहरु र पदाधिकारीसमेत गरी दुई दर्जन बढीको सहभागीता थियो । नेता सिंहले सम्पर्क समितिहरुको भूमिका प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार १२:०६