मुगु । समथल भूगोल र हिमाल, भिर पाखा भएको भूगोलमा काम गरिरहेका दुई सहकारी बीच अनुभव आदान प्रदान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा आफ्नो कार्यक्षेत्र बनाएर विगत २१ वर्ष देखि काम गर्दै आएको किसान बहुउद्देश्यीय सहकारी संस्था र हिमाली जिल्ला मुगु कार्यक्षेत्र बनाएर विगत ५ वर्ष देखि काम गर्दै आएको छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्यहरु बीच छायाँनाथ साकोसको कार्यालय गमगढीमा आइतबार अनुभव आदान प्रदान गरिएको हो ।
समथल तराईको भूभाग र हिमाली फरक भूभागमा वित्तिय कारोबार बारे आकाश पातल फरक पाएको किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताए ।
तराईका सदस्यहरुमा वित्तिय साक्षरता भएकाले काम गर्न सजिलो भएको, भूगोल समथल र यातायातको सुविधा भएकाले सदस्यसम्म संस्था पुग्न सहज भएको अनुभव किसानले सुनाएको थियो भने विकटता र दुर्गमताका कारण सबै ठाँउमा यातायात र संचार सुविधा नहुँदा आधुनिकतामा सहकारीबाट सदस्यहरुलाई सेवा दिन कठिनाई भएको अनुभव छायाँनाथका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले सुनाएका थिए । दुवै सहकारीले लघुवित्त र सहकारी मार्फत सदस्यहरुलाई वित्तिय तथा सामाजिक सेवा दिईरहेका छन ।
सरकारी तवरबाट सहकारीहरुको कार्यक्षमता र वित्तिय अनुशासन नहेरेर जथाभावी अनुदान वितरण गरिनु र गैरसरकारी संस्थाहरुले भत्ता मुखि कार्यक्रम गर्नुले वास्तविक वित्तिय कारोवार गर्ने सहकारी तथा वित्तिय संस्थाहरुलाई अप्ठेरो पारेको दुवैैै सहकारीका सञ्चालकहरुले बताएका थिए ।
२१ वर्षे यात्रामा काम गर्दा आफुहरुले भोगेका र आईपरेका समस्या र आउन सक्ने सम्भावित जोखिम बारे किसान सहकारीका सञ्चालकहरुले छायाँनाथका सञ्चालकहरुलाई अनुभव सुनाएका थिए ।
हिमाल तथा पहाडमा गाउँहरु टाढा टाढा हुने भएकाले सदस्यहरुलाई सेवा दिन कठिनाई हुने भएकाले यस्ता भूगोलमा काम गर्ने वित्तिय सस्थाहरुले ५ सय सदस्य बराबर सेवा दिन एउटा सेवाकेन्द्र खोल्नु पर्ने, सहकारी सदस्यहरुलाई सामाजिक कार्यमा पनि सहभागी गराउने र विपन्न सदस्यहरुलाई विना व्याज ऋण दिने जस्ता कार्य गरेमा सहकारीका सदस्य बढने अनुभव छायाँनाथले सुनाईएको थियो ।
कैलालीको लम्कीमा मुख्य कार्यालय रहेको किसानको कारोवार २ सय करोड बढी छ भने मुगु जिल्लाको गमगढीमा मुख्य कार्यालय रहेको छायाँनाथको २२ करोड कारोवार रहेको छ । किसानले तराई मात्र नभएर सुदूरपश्चिम प्रदेशका पहाडी वस्तीहरुमा पनि कार्यक्षेत्र विस्तार गर्ने भावी योजना भएकाले पहाडी तथा हिमाली क्षेत्रमा काम गरिरहेका सहकारीसंग अनुभव साटासाट गर्दै टोली मुगु पुगेको हो । सहकारीले सुर्खेतका बुद्घ, वातावरण, कालीकोटको हिमचुली, जुम्लाको चन्दननाथ र मुगुको छायाँनाथ सहकारीको अवलोकन भ्रमण गरेर अनुभाव साटासाट गरेको जनाएको छ ।
दुवै सहकारीका पदाधिकारीहरुले सरकारले गत बुधबार ल्याएको आव २०७६/०७७ को बजेटले सहकारी क्षेत्रलाई रामो्रसंग समेटेको र सरकारी अनुदान दिदा वितरण मुखि नभएर जिल्ला स्तरमा रहेका सहकारी विषयगत संघ र जिल्ला संघको सिफारिसमा मात्र कार्यान्वयन गरेमा कामको प्रभावकारिता बढने धारणा राखेका थिए ।
हिमालमा काम गरेको अनुभव स्थलगत रुपमा आफुहरुले लिएको र तराईको स्थलगत अनुभव लिन कैलालीको भ्रमण आउन छायाँनाथका सञ्चालकहरुलाई किसानका सञ्चालकहरुले निम्तो समेत दिएका थिए ।
यस्ता खालका अनुभव आदान प्रदान तथा भ्रमणले सहकारी विच एक आपसमा भातृत्व बढनुका साथै वित्तिय जोखिम घटाउन र संस्था सफल बनाउन कार्यनिर्देश हुने बताईएको थियो ।
प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार १८:५३