सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनले मात्र भावनात्मक एकता हुने बताएका छन् ।
नेपाली कांग्रेस सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले देउवा वा पौडेलको नभई नेपाली कांग्रेसको कार्यकर्ता हुन र नेताको मूल्यांकन गर्न आग्रह गरे ।
वरिष्ठ नेता पौडेलले दुई तिहाईको सरकारको अवस्था अल्पमतको सरकारको जस्तै भएको टिप्पणी गरे । उनले दुई तिहाईको नेकपाको सरकारले बहुमतको दुरुपयोग गरेको आरोप लगाए । केपी ओलीले जनताले दिएको बहुमतलाई दुरुपयोग गरेर मनपरी गरेको भन्दै उनले त्यसका विरुद्ध कांग्रेसले सशक्त भएर जवाफ दिने बेला आएको उल्लेख गरे ।
संविधान कार्यान्वयन उल्टो गतिमा गरेको आरोप लगाउँदै उनले विकास र समृद्धि गर्ने सुनौलो मौका पनि सरकारले मौका गुमाउँदै गएको उनको भनाई थियो । दुई तिहाईको दम्भ देखाएर सरकारले शक्ति र अधिकार केन्द्रीकृत गर्दै लिएको नेता पौडेलले बताए ।
अदालत, संवैधानिक अंग, संसदलाई पनि मनोबैज्ञानिक त्रास देखाएर नियन्त्रण गर्न खोजिएको र स्थानीय तह र प्रदेश सरकारलाई पनि कुनैपनि अधिकार नदिएर केन्द्रबाटै नियन्त्रण गर्न खोजिएिको आरोप वरिष्ठ नेता पौडेलले लगाए । अव कम्युनिष्ट सरकारको विकल्प कांग्रेस नै भएको र त्यसका लागि कर्मशील कांग्रेस बनाउनुपर्ने बेला आइसकेको उनले बताए ।
नेता पौडेलले नागरिकहरु खान र सिंचाईका लागि पानी नपाएर आकूलव्याकूल भएको बेला पानीजहाज र रेलका सपना नदेखाउन प्रधानमन्त्रीलाई सचेत गराए। रेल र पानी जहाज पनि आवश्यक रहेको तर प्राथमिकता के हो भनेर निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी, कांग्रेस दैलेखको सभापति कृष्ण विसी, नेपाल तरुण दलका महामन्त्री भूपेन्द्र शाहीलगायतले आगामी चुनावमा कांग्रेसलाई पहिलो पार्टीको रुपमा बनाउन अहिलेको गाउँ जागरण अभियानले सहयोग पुर्याउने बताए ।
प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार १४:३३