सुर्खेत । कुष्ठरोग लागेको भन्दै चार बर्षसम्म जंगलको ओडारमा बसेका जाजरकोटका एक कुष्ठरोग पीडितलाई उपचार थालिएको छ । जाजरकोटको डाँडागाउँ २ का ४७ बर्षीय प्रेमबहादुर रानालाई गत फागुन महिना खोजेर ल्याएर साइनिङ अस्पताल (आईएनएफ) सुर्खेतमा उपचार थालिएको हो ।
कुष्ठरोग लागेर हातका औंलाहरु झर्न लागेपछि पूर्व जुनीको पाप भन्दै रानालाई आफ्ना दाजुभाउजुले घरबाट निकालेका थिए । उपचार पछि उनको अवस्था अहिले निकै सुध्रिएको छ ।
साइनिङ अस्पतालमा उपचार गराइरहेका रानाले चार बर्षसम्म घर नजिकैको ओडारमा दाजुभाउजुले लिएर छोडिदिएको बताए । अरुलाई पनि रोग सर्छ भनेर घरदेखि करिव आधा घन्टा लाग्ने जंगलको ओडारमा छोडिएको उनको भनाइ छ । सात बर्षको उमेरमा आफ्ना आमाबुवाको मृत्यु भएपछि उनी दाजुभाइहरुसंग बस्दै आएका थिए । रोग लागेपछि उनले विवाह पनि गरेका छैनन् । चार बर्षसम्म ओडारमा बसेको रानाले बताए । आफू १५ बर्षको उमेरमा कुष्ठरोग लागेको उनले जनाए ।
उनलाई खाना चाहिं घरबाटै लगिदिने गर्दथे । अरुलाई नसरोस् भनेर घरदेखि टाढा जंगलमा राखिदिएको भन्दै उनले चार बर्षसम्म ओडारमा निकै कष्टका साथ बसेको स्मरण गरे । उपचार गर्नुपर्छ भन्ने थाहा नभएको, उपचार गर्ने पैसा पनि नभएको र दाजुभाउजुले पनि कुनै वास्ता नगर्दा रोगबाट पीडित हुनुपरेको रानाले बताए । बेलैमा उपचार नपाउँदा हात खुट्टाका औंलाहरु झेरेकोमा उनले दुःखेसो पोखे ।
साइनिङ अस्पताल सुर्खेतको टोलीले लुकेका कुष्ठरोगीहरु खोज्ने क्रममा उनलाई फेला पारेको थियो । अहिले उपचार थालेपछि उनी सामान्य अवस्थामा फर्किएका छन् । साइनिङ अस्पतालका सिअनमी गोमा शर्माले रानालाई गत फागुन १७ गते देखि उपचार थालिएको र अहिले निकै सुधार आएको बताउँछिन् । उपचारमा पनि राना एक्लै छन् । घरबाट कोहीपनि आएका छैनन् । उनको सम्पूर्ण उपचार खर्च निःशुल्क गरिएको छ । जंगलको ओडारमा रहेको खबर पाएपछि अस्पतालबाटै खोजी गर्न टोली गएको थियो ।
अझैपनि उहिले जुनीको पाप भन्दै कुष्ठरोगीहरु जंगल, ओडारमा नारकीय जीवन विताउन बाध्य छन् । दुर्गम, पहाडी जिल्लाहरुमा कुष्ठरोगका विरामीहरु बढी हुनसक्ने सिअमनी शर्माले बताइन् । साइनिङ अस्पतालमा अहिले १० जना कुष्ठरोग तथा मेरुदण्डका विरामीहरुको निःशुल्क उपचार भइरहेको छ । सुर्खेतका साथै दैलेख, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट उपचारका लागि आउने गरेको उनले जनाइन् । कुष्ठरोगको उपचार सम्भव छ र उपचार गरेपछि निको हुन्छ भन्ने जनचेतना पनि ग्रामीण तहमा अझै पुग्न नसकेको उनको भनाइ छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार १३:३२