मुगु । दुर्गम हिमाली जिल्ला मुगुमा आँखाका बिरामीलाई उपचारमा सहज हुदै आएको छ ।
नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा मुगुको सहजीकरण र हिमालय आँखा अस्पताल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक आँखा उपचार केन्द्र स्थापना भएपछि आाँखाका बिरामीलाई उपचारमा सहज भएको हो । बिशेष गरि आँखा रातो भएको, फुलोपरेको, सामान्य खाले सल्यक्रिया, आँखा पाकेको, आँखामा चश्मा जाँच लगायत कसिङ्गर निकालने खालका रोगहरुको उपचार गर्ने गरिएको छ ।
मुगुमा स्थापना भएको एक मात्र सामुदायिक आँखा उपचार केन्द्रमा मुगु लगायत हुम्ला जिल्लाको तल्लो भेग, दार्म, मिमी, पिप्लाङ्, श्रीनगर, जैर र जुम्लाका चौथा, भुलभुलेबाट पनि बिरामी उपचारका लागि आउने गरेको सामुदायिक आँखा अस्पताल मुगुका नेत्र सहायक ध्रुबराज बुढथापाले बताए ।
एक जना नेत्र सहायक र १ जना कार्यालय सहयोगी गरी जम्मा २ जनाको दरबन्दी रहेको उक्त आँखा उपचार केन्द्रमा दैनिक १५ देखि २० जना आँखाका रोगीहरु उपचारको लागि आउने गरेको बुढथापाले बताए । एक जनाको मात्र नेत्र सहायकको दरबन्दी रहेको आँखा उपचार केन्द्रमा आवश्यक जनशक्ति अभावका कारण बिरामीको उपचारमा कठिनाई हुने गरेको उनले बताए ।
आँखा जाँच्ने सिलिट लेम्प मेसिन, भिजन ड्रम, ट्राईसेल सेट, लगायतका आवश्यक उपकरणहरु उपलब्ध भएपनि आँखा उपचार केन्द्रको भवन जिर्ण भएकाले सामान्य आाँखाको सल्यक्रियामा गर्न समेत बाधा भएको नेत्र सहायक बुढथापाको भनाई छ ।
२०६५ सालमा नेपाल रेडक्रस सोसाइटी, आन्तरिक बिस्थापित द्वन्द्व प्रभावित सहयोग परियोजना र कामका लागि खाद्यान्न कार्यक्रमको सहयोगमा निर्माण गरिएको भवन हाल जिर्ण बन्दै गएको छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार २०:३८