सुर्खेत । गणतन्त्रको नाममा नेकपाको दुई तिहाईको सरकारले निरंकुशता लाद्दै गएको बताइएको छ । गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकारले आलोचना सुन्नै नसक्ने एकपछि अर्को गर्दै निरंकुशता लाद्न थालेको बताइएको हो ।
कार्यपत्र प्रस्तुत गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कानुन संकायका निर्देशक अर्जुनबहादुर अयडीले गणतन्त्रको नाममा वर्तमान सरकारले निरंकुशता लाद्दै गएको बताए । उनले मिडिया काउन्सिल विधेयकलगायत अन्य निकायहरुलाई नियन्त्रण गरी अंकुश लगाउन खोजेको र त्यो सरकारको निरंकुशवादी चरित्र भएको टिप्पणी गरे ।
दुई तिहाईको दम्भले गणतन्त्रलाई असफल पार्ने षड्यन्त्र हुदै गएको आरोप उनले लगाए । गणतन्त्र बास्तवमा नागरिकका लागि भएपनि नागरिकलाई रैती सम्झने प्रवृत्ति कायमै रहेको उनको भनाइ छ । गणतन्त्रको एक दशकको अवधिमा व्यवस्था फेरिएपनि नेतृत्व र अवस्था भने नफेरिएको उनले जनाए ।
नेतृत्व र अवस्था उस्तै छ, केवल व्यवस्था फेरिएको भन्दै निर्देशक अयडीले गणतन्त्रमा नागरिक र समाजलाई संगसंगै अगाडि लैजानुपर्ने बताए । नेकपाले चुनाव जितेदेखि नै दम्भ र धम्की दिइरहेकोले नागरिक केवल टुलुटुलु हेर्ने र सहन बाध्य भएको अयडीले बताए ।
यद्यपि गणतन्त्रले लोकतान्त्रिक संविधान दिनु महत्वपूर्ण उपलव्धी भएको उनले जनाए । संविधान कार्यान्वयन गर्नमा कांग्रेसले बढी पहल गर्नुपर्ने उनको भनाइ छ । ठूला परिवर्तनको नेतृत्वकर्ता कांग्रेस पनि अव सशक्त, जुझारु र परिवर्तनकामी भएर जनतामाझ जानुपर्ने सुझाव उनले दिए ।
कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय अनुसन्धान, नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य कृष्णबहादुर रोकायले कांग्रेसकै नेतृत्वमा गणतन्त्र आएको बताउँदै गणतन्त्रलाई संस्थागत गर्न पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको बताए । सरकार गणतन्त्र कमजोर बनाउन लागेकोले जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको उनले बताए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कांग्रेस पछिल्लो समय सशक्त र जुझारु बनेको जनाए । उनले कांग्रेसको नेतृत्व विना गणतन्त्र संस्थागत विकास र संरक्षण हुन नसक्ने बताए ।
क्षेत्रीय सभापति खड्क पोख्रेलले विगतको कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नुको विकल्प नभएको बताए । अर्का क्षेत्रीय सभपाति नारायण कोइरालाले
संघीयता र गणतन्त्रक कमजोर बनाउन सरकार लागेको आरोप लगाए । कार्यक्रममा महिला संघका सभापति पार्वती गिरी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार १३:२९