काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ ।
सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिनुभएको थियो । सोही समयदेखि संसारभरि सगरमाथाको आकर्षण बढ्दो छ ।
सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका क्रममा हालसम्म २९० बढीको निधन भइसकेको बताइन्छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन् । जापानी नागरिक स्व जुन्को
तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।
पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनले वसन्त ऋतुको यस याममा गत जेठ ७ गते आफ्नै २३ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएका हुन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए ।
कामिरितापछि हालसम्म आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९
पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन् ।
पर्यटन विभागका अनुसार सन् २०१९ को वसन्तकालीन मौसममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् ।
यस मौसममा सगरमाथासहितका ३२ हिमाल आरोहणका लागि ११६ आरोही समूहका ८९५ आरोहीले आरोहण अनुमति लिएका थिए । यस यामको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।
यस पटकको सगरमाथा आरोहण मंगलबारबाट सकिएको विभागले जनाएको छ । यस याममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति संख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको
विभागले जनाएको छ । सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।
दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका
रूपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग
नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।
सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो । मानिसले सगरमाथा र
नेपालको परिचयलाई जोडेर हेर्नसमेत थाले ।
सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको
छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो । यसपटक १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको छ । रासस
प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार १०:५६