सुर्खेत । लोडसेडिङ छैन, तर विद्युत पनि छैन । यस्तै समस्याको मारमा छन्, सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका वासिन्दा । यी चार जिल्लाका उपभोक्ताले अघोषित लोडसेडिङको मारखेप्नु परेको छ । लोडसेडिङ नभएपनि छिनछिनमा विद्युत जाने समस्याले उपभोक्ता मात्र होइन, स्वयं विद्युतका कर्मचारीले पनि तनाव झेल्नु परेको छ ।
विद्युत प्राधिकरणका इन्जिनियर मनोज अर्याल विद्युत किन छिनछिनमा गइरहन्छ भन्ने समस्याको समाधान हुन नसक्दा विद्युत अवरोधको समस्या भोग्नु परेको बताउँछन् । अहिले सुर्खेतमा पटक पटक विद्युत अवरोध लोडसेडिङले नभई प्राविधिक समस्याले गर्दा भएको उनले बताए । उनले भने, ‘देखिने भन्दा नदेखिने समस्याले गर्दा बढी तनाव झेल्नु परेको छ ।’ उनका अनुसार सुर्खेतसहित जाजरकोट र दैलेखको विद्युतमा कुनै खराबी आए सिधै कोहलपुर स्टेशनबाटै विद्युत वन्द हुने गरेको छ । जसका कारण तीन जिल्लाले सास्ती पाएका छन् ।
हिजोआज सुर्खेतमा दैनिक तीनदेखि चार दर्जन पटक विद्युत अवरुद्ध हुने गरेको छ । त्यतिमात्र होइन, ग्राहकहरु साँझपखको लो भोल्टेजका कारण थप समस्या भोग्न बाध्य छन् । विद्युतकै समस्याले तीन दिनमा एक पटक आउने खानेपानीको जोहो गर्न समेत सुर्खेत उपत्यकाका वासिन्दालाई धौधौ परेको छ ।
सुर्खेतमा दैनिक ३५० एम्पियर विद्युत आउनुपर्नेमा बढीमा २५० देखि २८० एम्पियरसम्म आउने गरेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । विद्युत प्राधिकरण अनुसार कोहलपुरदेखि सुर्खेत आउने ३३ केभीए प्रसारण लाइन निकै पुरानो भएकोले समस्या हुने गरेको हो । १३२ केभीए लाइन नआउने बेलासम्म यो समस्या समाधान नहुने प्राधिकरणले जनाएको छ ।
सुर्खेतमा मात्रै करिव ४२ हजार ग्राहक छन् । सानो क्षमता भएका स्थानमा ठूलो क्षमताको ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । जसका कारण सानातिनो समस्या आफै हट्ने प्राधिकरणको भनाइ छ ।
यसैबीच सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा छिनछिनमा अवरुद्ध हुने विद्युतको समस्या खोज्न विद्युत प्राधिकरणले सोमवारदेखि ६ वटा टोली परिचालन गरेको छ । एउटा टोलीमा दुई जनाको दरले कर्मचारी खटिएको विद्युत प्राधिकरण सुर्खेत कार्यालयले जनाएको छ । उनीहरुले प्रत्येक विद्युतको पोलमा पुगेर तार, इन्सुलिटिर, कन्डक्टरलगायतको चेकजाँच गर्नेछन् । प्राधिकरणले खटाएको टोलीले समस्या पहिल्याउने विश्वास गरिएको छ ।
तर अव सुर्खेतमै वन्द गर्न सकिने व्यवस्था मिलाउन लागिएको विद्युत प्राधिकरणका इन्जिनियर अर्यालले बताए । सुर्खेतबाट विद्युत वितरण प्रणालीमा सुधार ल्याउने काम भइरहेको र छिट्टै त्यो समस्या समाधान हुने उनको भनाई छ ।
भिडियाे
प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार १६:५६