सुर्खेत । मुलुकको कूल ग्राहस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान एक खर्ब बढी रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार सात वटा प्रदेशमध्ये सवैभन्दा कम कर्णाली प्रदेशको एक खर्ब १९ अर्ब २५ करोड ९० लाख योगदान रहेको छ ।
शुक्रवार सुर्खेतमा विभागले कूल ग्राहस्थ उत्पादनमाको कर्णाली प्रदेशको तथ्यांक सार्वजनिक गर्दै सवैभन्दा कम योगदान कर्णाली प्रदेशबाटै रहेको जनाएको छ । विभागका तथ्यांक अधिकृत शिव श्रेष्ठले मुलुकको राष्ट्रिय ग्राहस्थ उत्पादन ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रहेकोमा कर्णालीको योगदान एक खर्ब बढी अर्थात पाँच प्रतिशत रहेको जानकारी दिए ।
कूल ग्राहस्थ उत्पादनमा कर्णालीमा सवैभन्दा धेरै कृषि र बनको रहेको छ । विभागको तथ्यांक अनुसार कृषि र वनको योगदान ३८ अर्ब ९४ करोड ५० लाख रहेको छ । त्यसपछि शिक्षाको १६ अर्ब ९२ करोड १० लाख, निर्माणको १३ अर्ब पाँच करोड ६० लाख, घरजग्गा तथा व्यवसायिक कारोबारको १० अर्ब १८ करोड ५० लाख योगदान रहेको छ ।
यसैगरी सार्वजनिक प्रशासनिक र सुरक्षाको ९ अर्ब २२ करोड, होलसेल र खुद्रा व्यापारको सात अर्ब ६२ करोड ६० लाख, होटल तथा रेष्टुरेन्टको तीन अर्ब ५२ करोड ५० लाख, विद्युत ग्यास र पानीको एक अर्ब ४३ करोड ५० लाख, यातायात, भण्डार र संचारको एक अर्ब ६१ करोड १० लाख, खानीको ६६ करोड ६० लाख योगदान रहेको तथ्यांक अधिकृत श्रेष्ठले बताउनुभयो । अन्य प्रदेशभन्दा कर्णालीको भौगोलिक अवस्था, शिक्षा, रोजगारलगायत विभिन्न क्षेत्रमा कम प्रतिनिधित्व हुँदा कूल ग्राहस्थ उत्पादनमा पनि सवैभन्दा कम भएको उनको भनाइ छ ।
विभागले चालु आर्थिक बर्ष २०७५÷०७६ मा आर्थिक विकासको महत्वपूर्ण काम भएकोले उत्साहप्रद रहेका कारण विभिन्न क्षेत्रमा पनि बृद्धि हुने जनाएको छ । अनुकूल मौसमले कृषि क्षेत्रको उत्पादन बढेको, पुनर्निर्माणको कार्यले गति लिएको, ऊर्जा संकटबाट मुक्ति पाएका कारण देशको अर्थतन्त्र गतिशील बनेको, बैदेशिक रेमिटान्स उत्पादनमूलक कार्यमा लगानी भएको, कृषि व्यवसायिकरण हुँदै गएको, राजनीतिक स्थिरतातर्फ देश उन्मुख भएको, बन्द हड्तालको काममा कमी आएकोले चालु आर्थिक बर्षमा देशको अर्थतन्त्र सुधारोन्मुख भएको विभागका निर्देशक गणेशप्रसाद आचार्यले बताए ।
कर्णाली प्रदेशमा चालु आवमा कूल ग्राहस्थ उत्पादको स्थिर मूलय बृद्धिदर ५.६८ प्रतिशतले बृद्धि हुने अनुमान विभागले गरेको छ । त्यतिमात्र होइन, कृषि तथा वन, मत्स्य, खानी उत्खनन सम्मिलित प्राथमिकमा ४.५१ प्रतिशत, निर्माण, उद्योग र विद्युत, ग्यास र पानी सम्मिलित द्वितीयक क्षेत्रमा ९.८३ प्रतिशत, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात संचार सम्मिलित सेवा क्षेत्रमा ५.४४ ले कूल ग्राहस्र्थ उत्पादमा बृद्धि हुने अनुमान विभागले गरेको छ ।
विभागका निर्देशक गणेशप्रसाद आचार्यले विगतमा जेजस्तो भएपनि चालु आर्थिक बर्षदेखि कर्णाली प्रदेशले पनि आप्mनो सेवा क्षेत्रमा बृद्धि गरी कूल ग्राहस्थ उत्पादनको मात्रा बृद्धि गर्ने अपेक्षा गरे । उनले पहिलो पटक तथ्यांक विभागले प्रादेशिक राष्ट्रिय लेखा तथ्यांक संकलन गरेर सार्वजनिक गरिएको जानकारी दिदैं यसले प्रदेशको अवस्था के कस्तो रहेछ भनेर जानकारी दिने उल्लेख गरे ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशको योगदान कम भएपनि उचित मूल्यांकन गरिनुपर्ने बताए । उनले प्रदेशले प्रतिव्यक्ति आम्दानी २१ सय डलर पु¥याउने महत्वकांक्षी योजनालाई पूरा गराउन सेवा क्षेत्रको स्तर पनि सुधार गर्दै जानुपर्ने उल्लेख गरे । अहिले कर्णाली प्रदेशको प्रतिव्यक्ति आय ६०१ डलर रहेको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार १५:०५