मुगु । नेपालकै प्रमुख पर्यटकीय स्थल रारातालमा सरसफाई अभियान थालिएको छ ।
नेपाली सेना श्रीदलगुल्मको आयोजनामा राराताल वरपरका क्षेत्रमा सरसफाई गरिएको हो । बिशेष गरि केहि वर्ष यता रारामा दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएपछि ताल वरपरका स्थानहरुमा फोहर समेत बढ्दै गएको छ ।
ताल वरपर बढ्दै गएको फोहरलाई मध्यनजर गर्दै रारा राष्ट्रिय निकुञ्जको सुरक्षारत खटिएको नेपाली सेना श्रीदल गुल्मले विश्व जैबिक विविधता दिवसको अवसरमा राराताल वरपरका ठाउँहरुमा सरसफाई अभियान शुरु गरेको श्रीदल गुल्मका गुल्मपति रवि केसीले बताए ।
रारा सरसफाई कार्यक्रममा, उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणाको नेतृत्वमा रारा सरसफाई अभियानको शुभारम्भ गरिएको थियो ।
सरसफाई अभियानमा छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ्ग शाही, नेपाली सेना जुम्लाका बाहिनीपति दिपक कुमार बानियाँ, मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, ससस्त्र प्रहरी बलका डिएसपी बषन्त बहादुर सिह, राष्ट्रिय अनुसंधान मुगुका प्रमुख नेब राना, उद्योग बाणिञ्ज्य सघका अध्यक्ष कमल बहादुर बुढा, पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र मल्ल लगायतका ब्यक्तिहरु सरसफाई अभियानमा सहभागि भएका थिए ।
रारा घुम्न आउने पर्यटकहरुले आफूले खाने गरेका बिस्कुट, चाउचाउ, फेन्टा, फ्रुटी कोक लगायतका पेयपर्दा र प्लाष्टिकका बोतलहरु जथाभावी फाल्नाले ताल वरिपरि फोहर बढ्दै गएको थियो । यहाँ अवस्थित रारा राष्टिय निकुञ्ज, नेपाली सेनाले राराताल वरिपरिका स्थानहरुमा फोहर फाल्ने खाल्डो समेत बनाएका छन् ।
प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार १५:४१