सुर्खेत । सुर्खेतस्थित साइनिङ अस्पताल आईएनएफ सुर्खेतको फिस्टुला केन्द्र र त्यसभन्दा अगाडि संचालन गरिएका शिविरबाट अहिलेसम्म ३०० जना फिस्टुला प्रभावित विरामीहरुको शल्यक्रियाबाट उपचार गरिएको छ । पिसाव चुहिने रोग (फिस्टुला) बाट ग्रसित उनीको सन २०१३ देखि हालसम्म उपचार भएको हो ।
सुर्खेतस्थित फिस्टुला केन्द्रमा कपिलबस्तुदेखि भारतको उत्तरप्रदेशबाट समेत उपचारका लागि आउने गरेका छन् । फिस्टुला केन्द्रको तथ्याङ्क अनुसार सवैभन्दा धेरै कपिलबस्तुबाट आउने गरेका छन् । केन्द्रले निःशुल्क उपचारका साथै आउने जाने खर्च र कुरुवालाई पनि खाना खर्च दिने गरेको छ । साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका व्यवस्थापक मंगल थारुले ३०० जना अति प्रभावित महिलाले उपचारपछि नयाँ जीवन पाएको बताए । उनले १० बर्षदेखि ४० बर्षसम्म रोग पालेर राखेका महिलाहरु केन्द्रमा आएर उपचारपछि निको भइ गएको उल्लेख गरे । उनका अनुसार अहिले विरामीको उपचारकासाथै आर्थिक तथा सामाजिक सहयोगपनि गरिएको छ ।
फोटो क्याप्सनः प्रसव फिस्टुला दिवसको अवसरमा फिस्टुला रोगवारे जानकारी गराउँदै फिस्टुला सर्जन डा. शेर्ली ।फिस्टुला केन्द्रका फिस्टुला सर्जन डा. शेर्लीले कलिलो उमेरका आमाहरु नै फिस्टुला रोगको जोखिममा रहेको जनाइन् । घरपरिवार र समाजको डरले रोग लुकाई समयमै उपचार नगर्दा फिस्टुला रोग बल्झने गरेको भन्दै उनले समयै उपचार गर्न सकिए निको हुने बताइन् ।
प्रदेश अस्पताल सुर्खेतका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. गणेश थापाले सुर्खेतमा पश्चिम नेपालको एकमात्र फिस्टुला केन्द्र रहेकोले फिस्टुला पीडित महिलाहरुले नयाँ जीवन पाएको बताए । उनले प्रदेश अस्पताल मातहतमै रहेर फिस्टुला केन्द्रको सम्पूर्ण काम कारबाही संचालन भइरहेको भन्दै आगामी दिनमा पनि निःशुल्क उपचारको काम जारी रहने उल्लेख गरे ।
प्रसव फिस्टुला दिवस मनाइयो
यसैवीच प्रदेश अस्पताल र साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतले विश्व प्रसव फिस्टुला दिवस विहीवार मनाएका छन् । दिवसमा प्रसव फिस्टुला मानवअधिकारको उल्लंघन भएकोले यसको अन्त्य गर्न आग्रह गरिएको थियो । प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेल, नर्सिङ प्रमुख दिपा भट्टराई, पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष माया थापाले फिस्टुला रोगको उपचार सम्भव छ भन्ने जनेचतना जगाउन आवश्यक रहेको बताएका थिए ।
प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार १५:१५