सिञ्जा । जुम्लाका अधिकाश युवा अटो चलाएर रोजगार बनेका छन । पाँच लाख देखि सात लाखको लागतमा खरिद गरेर जुम्लाका एक सयभन्दा बढी
युवा मासिक २० देखि ३० हजार आम्दानी गर्न सफल भएका छन् । वैदेशिक रोगजारीबाट फर्केका युवाहरु अहिले आफ्नै गाउँठाउमा अटो संचालन गरेर
रोजगार भएका छन ।
आफ्नै गाउँठाउँमै अटो रिक्साबाट राम्रो आम्दानी भएपछि ट्रक, बस, कार चलाइरहेका चालकहरू पनि अटो रिक्सातर्फ आकर्षित भएका छन । तीन वर्ष काम गरेर मलेसियाबाट फर्केका तातोपानी गाउँपालिका ६ खड्का वाडाका २२ वर्षीय प्रेम खड्का अटो रिक्सा चलाएर मासिक ३० हजार कमाउने गरेको बताए ।
खर्च काटेर दिनको एक हजार बचत हुने गरेको उनले बताए । ७ लाख रुपैयाँमा किस्ता बन्दीमा अटो रिक्सा किनेका प्रेम खड्काले कमाएर
घरपरिवार पालेर मासिक १५ हजार किस्ता चुक्ता गर्दै आएको जानकारी दिए । एसएलसी पास गरेर रोजगारीको लागि अवसर नपाएर आफुले अटो खरिद गरी स्वरोजगार भएको उनले बताए । पहिला भन्दा अहिले कमाइ अलि कम हुने गरेका बताए । शुरुमा कसैको अटो नहुदा दिनमा ४ हजार देखि ५ हजार
सम्म हुने गरेको थियो । बिहानै रिक्सा लिएर चलाउनमा व्यस्त हुने गरेको उनको भनाइ छ ।
हाल १ दिनको १५ देखि १८ सय कमाइ समेत हुदै आएको खड्काले जानकारी दिए । प्रतिव्यक्ति ५० रुपैया लिने गरिएको छ । भने रिजाव गरेवापत २ सय ५० सम्म लिदै आएको खड्काको भनाइ छ । आफ्नै घर बसेर कमाउन पाउँदा खुसी लागेको उनको तर्क छ । सोही वडाका २० वर्षीय मिलनखड्का पनि अटो रिक्साबाट मनग्य आम्दानी भए पछि दंग छन् । जुम्लाको पुरानो वर्षपार्कमा यात्रुको पर्खेर बसेका द्धोय खड्काले महिनाको ३० हजार त मज्जाले
कमाइने गरेका बताएका छन ।
३ वर्ष मलेसियामा बसेका खड्काले विदेश भन्दा स्वदेशमै अटो रिक्साबाट राम्रो आम्दानी भएको बताए । आफ्नै देशमा परिवार सँगै बस्न पाइएको छ,
भन्दै स्वदेशमै राम्रो आम्दानी हुन्छ भने विदेश जानको लागि खासै आवश्यक नभएको अटो चालकहरुले बताउदै आएका छन । अटो रिक्सा किनेर गाउँमै
स्वरोजगार भएपछि कसैको करकापमा बस्नु नपरेको भन्दै उहाँहरुले खुसी व्यक्त गरेका छन ।
विदेशमा नेपालीहरूले भोगिरहेको दुखका व्यथाहरु बताउँदै खड्काले अर्काको देशमा नेपालीको हालत मर्दा कुकुर बिरालो जस्तै हुने अनुभव सुनाउनु भएको
छ । जुम्लामा दुई वर्षअघिदेखि अटो रिक्सा सञ्चालनमा आएपछि ग्रामीण भेगका घरदैलोमा यातायातको सुविधा पुगेको खड्काले बताए । रिक्साले
गाउँमै रोजागरीको अवसर सिर्जना गरेको छ ।
सानातिना ढुवानीदेखि आवतजावतमा अटो रिक्सा सञ्चालनले टेवा पुगेकोे अधिकाश अटो चालकहरुले बताउदै आएका छन । ठूला सवारी नपुगेको गाउँघरको
बाटोमा पनि अटो रिक्सा पुग्ने गरेको छ । ग्रामीण क्षेत्रमा अटो रिक्साले एम्बुलेन्सको पनि काम गरेको छ । कहाँ एम्बुसलेन्स खोज्ने भन्दै तुरुन्तै गाउँकै अटो रिक्सा बोलाएर अस्पतालमा बिरामी पुर्याउन सहज भएको छ । हाल जुम्लाका अटो रिक्साले चन्दननाथ नगरपालिका भित्र र तातोपानीको एरेनी सम्मको रुटप्रमिट पाएको अटो चालकहरुको भनाइ छ । हाल जुम्लामा ६० भन्दा बढी अटोहरु पुगेका छन । रासस
प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार १८:४७