सुर्खेत । कर्णाली प्रदेशमा आँखाका विरामीहरुको तथ्यांक संकलन गर्ने कार्य थालिएको छ । सुर्खेत आँखा अस्पताल, हिमालय आँखा अस्पताल, राप्ती आँखा अस्पताल र फत्तेवाल आँखा अस्पतालले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रदेशमा अन्धोपन निवारणको लागि सर्वे गर्न थालिएको हो ।
प्रदेशका १० जिल्लाका ११७ ठाउँमा सर्वे गरिनेछ । प्रदेशमा निको हुने अन्धोपन निवारणका लागि पहिलो पटक प्रदेशस्तरीय सर्वे थालिएको सुर्खेत आँखा अस्पतालका व्यवस्थापक घनबहादुर थापाले जानकारी दिए । सर्वेका क्रममा अन्धोपनको कारण, संख्या, हटाउन सकिने उपाय, मोतियाविन्दुका विरामीको संख्या, अप्रेशन गर्नुपर्ने संख्यालगायतका विभिन्न विषयहरुको संकलन गरिनेछ । सर्वे चार महिनाभित्र गरिनेछ ।
सर्वे तालिमको सोमवार उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सर्वेबाट प्रदेशको आँखासम्वन्धी बास्तविक तथ्यांक आउने विश्वास व्यक्त गरे । हचुवाको भरमा सर्वे नगर्न सुझाव दिदैं उनले तल्लो तहसम्म पुगेर नागरिकलाई भेटेर अन्धोपनको अवस्थाको वारेमा तथ्यांक ल्याउन निर्देशन दिए । उनले यही बास्तविक तथ्यांकबाट नै प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा आँखाको सेवाका वारेमा विभिन्न कार्यक्रम बनाउने प्रतिवद्धता जनाए ।
सुर्खेत आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लिलाराम सुवेदीले कर्णाली प्रदेशमा अन्धोपनका विरामीहरु बढ्दै गएकोले त्यसलाई घटाउनका लागि सर्वेको कामले सघाउने बताए । अन्धोपन रोक्न सकिने कामका लागि सहयोग गर्न उनले प्रदेश सरकार, स्थानीय सरकारसंग आग्रह गरे । सर्वे विज्ञ युद्धध्वज सापकोटाले अन्धोपनको रोकथामका लागि नेपालले निकै राम्रो प्रयास गरेको बताए । उनले सर्वेको काममा प्रदेश सरकारले अपतत्व लिएकोमा खुशी व्यक्त गर्दै यसबाट प्रदेशको आँखाका विरामीहरुको बास्तविक तथ्यांक संकलन हुने उल्लेख गरे । सुर्खेत आँखा अस्पतालका आँखा विशेषज्ञ डा. शक्तिप्रसाद सुवेदीले प्रदेशमा आँखाका विरामीहरुको चाप बढ्दै गएको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका अध्यक्ष रामलाल आचार्य, प्रदेश महासचिव कृष्णबहादुर थापा, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले अन्धोपन निवारणका लागि प्रदेशमा थालिने सर्वेको कामको सफलताको कामना गरे । सर्वे तालिमका लागि युद्धध्वज सापकोटा र बेलायती विज्ञ इ यानले सहजीकरण गरेका छन् ।
प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार १७:१७