बाजुरा । जिल्ला शिक्षा विकास समन्वय एकाइले साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । बाजुराका नौ वटै स्थानीय तहसँगको
सहकार्यमा अभियान प्रत्येक वडा र टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेका छन् ।
आगामी असारभित्र साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यसहित अभियानका गतिविधिलाई तीव्रता दिएको शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले जानकारी दिएका छन् । जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा साक्षरता अभियान जिल्ला समन्वय समिति गठन गरिएको छ ।
साक्षरता समन्वय समितिले स्थानीय तहसँगको सहकार्यलाई अघि बढाएको छ । निरक्षरको तथ्याङ्क सङ्कलनदेखि निरक्षर जनसङ्ख्यालाई साक्षर बनाउने गतिविधि सञ्चालन भइरहेको जिल्ला समन्वय समिति प्रमुख एवं साक्षरता अभियान समन्वय समिति संयोजक नरेन्द्रकुमार रोकायाले जानकारी दिए ।
अभियानलाई तीव्र पार्न समितिले स्थानीय तहसँगको छलफल तथा भेटघाटलाई तीव्र बनाएको छ । बुधबार बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाका
जनप्रतिनिधि र शिक्षासँग सरोकार राख्ने निकायसँग छलफल गरेको छ । साक्षरता अभियानका चुनौती र अभियान सफल पार्न भइरहेका प्रयासबारे छलफल गरिएको हो । स्थानीय तहका प्रमुख संयोजक रहेको स्थानीय तह समन्वय समितिसमेत गठन गरिएको छ । समितिले आफ्ना काम कारवाही अघि बढाइरहेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताए ।
साक्षरता जिल्ला घोषणाका लागि १२ सूचक तयार पारिएको छ । भाषा बोल्न सक्ने, परिचय दिन सक्ने, अङ्क चिन्न सक्ने, मोबाइल चलाउन सक्ने, नाम लेख्न
सक्ने जस्ता १२ सूचकमध्ये कुनै सिकेको वा थाहा पाएको भए साक्षर मान्न सकिने सरकारले मापदण्ड बनाएको छ ।
साक्षर वर्ष २०७६ का रूपमा घोषणा गरिएकोले सफल पार्नु सबैको दायित्व हुने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताएका छन् ।
अभियानअन्तर्गत हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा गतिविधि तीव्र भइरहेका छन् । हिमाली गाउँपालिका ४३ स्वयंसेवक नै राखेर साक्षर कक्षा सञ्चालन भइरहेको र औठा छाप गर्नेलाई सुविधा रोक्ने निर्णय नै गरिसकेको गाउँपालिका अध्यक्ष गोविन्द्र मल्लले बताए ।
बूढीनन्दा नगरपालिकामा निरक्षरको तथ्याङ्क सङ्कलन कार्य पूरा भई अन्य गतिविधि बढेर जेठभित्रै घोषणा गर्ने गरी काम थालिएको नगर उपप्रमुख सृष्टी
रेग्मीले बताइन् ।
प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार ०७:३१