काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले लघु बिमा कार्यक्रमलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । वुधबार राजधानीमा आयोजित बिमा समितिको ५१औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले वित्तिय उपकरणलाई उत्पादनसँग जोड्नुपर्ने बताए ।
लघु बिमालाई प्रोत्साहन गर्नु जरुरी रहेको मन्त्री खतिवडाको भनाइ थियो । “बैंक र बिमा कम्पनीबीच प्याकेजमा डिल गर्ने काम गर्न हुँदैन्”, उनले
भने । उनले बैंकले बिमा कम्पनीको बिमालेख बेचिदिने र त्यस वापत बिमा कम्पनीले बैंकमा निक्षेप राख्ने गरेको उल्लेख गर्दै यस्ता गतिविधि
सकारात्मक नभएको उल्लेख गरे ।
“हामी नियामक निकाय हौँ, हाम्रो ध्यान चारैतिर हुन्छ, त्यस्तो कामले अर्थतन्त्रलाई राम्रो गर्दैन, यस्तो गर्नुहुँदैन”, मन्त्री खतिवडाले भने ।
जोखिम बहन गर्ने बिमा कम्पनी आफै जोखिममा पर्ने देखिएकाले उनले कानूनसम्मत रुपमा ध्यान दिन बिमा कम्पनीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले नेपालमा बिमा बजारमा सकारात्मक असर परेको भन्दै बिमा शुल्कमा समेत वृद्धि भइरहेको जानकारी
दिए । सर्वसाधारणमा बिमाप्रतिको विश्वास बढ्दै गएको भन्दै उनले २०७५ सालको शुरुआतमा १० प्रतिशतमा सिमित रहेको बिमाको पहुँच फागुन मसान्तसम्म आइपुग्दा १८ प्रतिशतमा पुगेको बताए ।
चालू आर्थिक वर्षको अन्त्य सम्ममा २० प्रतिशत पुग्ने अनुमान रहेको चापागाईंले बताए । उनले अहिले कूल गार्हस्थ उत्पादनमा बिमाले तीन प्रतिशत योगदान दिएको र यो बढ्दै गएको बताए । रासस
प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार ०६:५७