सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तीन महिनाको अवधिमा नसर्ने कडा रोगका ३८ जना विरामीलाई जनही ३८ लाख रुपैयाँ सहयोगको सिफारिस गरेको छ । गत माघ २८ गतेदेखि यही बैशाख १९ गतेसम्मको करिव तीन महिनाको अवधिमा मिर्गौला, क्यान्सर, मुटुसम्वन्धी र ट्युमररोगबाट पीडित १६ महिला र २२ पुरुष गरी ३८ जना विरामीलाई नगरपालिकाले सहयोग सिफारिस गरेको हो ।
नगरपालिकाले मिर्गाैला रोगका चार महिला पाँच पुरुष गरी नौ जना, क्यान्सरका आठ महिला सात पुरुष गरी १५ जना, मुटुरोगका चार महिला नौ पुरुष गरी १३ जना र ब्रेन ट्युमरका एक बालक गरी ३८ जनालाई एक लाख सहयोगको सिफारिस गरिएको वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक सीता शर्माले बताइन् । नसर्ने रोगका आठ ठूला रोगमध्ये उनीहरुलाई जनप्रतिनिधिहरुको सिफारिसमा नगरपालिकाले मान्यताप्राप्त अस्पतालमा उपचार गर्न एक लाख रुपैयाँसम्मको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गर्दछ ।
उनले विगतको तुलनामा सर्ने भन्दा नसर्ने रोगबाट प्रभावित हुनेहरुको संख्या बढ्दै गइरहेको चिन्ता व्यक्त गर्दै उनले शारीरिक निष्क्रियता, असन्तुलित भोजन, धुम्रपान र मद्यपानको प्रयोगबाट नसर्ने रोग बढेको बताइन् । नगरपालिकाले गरेको सहयोग सिफारिसका आधारमा महिलामा क्यान्सरको बढी जोखिम र पुरुषमा मुटुसम्वन्धी रोगको जोखिम बढी देखिएको पाइएको उनको भनाइ छ ।
यसैवीच वीरेन्द्रनगर नगरपालिकामा मेरो बर्ष, म स्वस्थ, मेरो देश स्वस्थ अभियान पुनः सुरु गरिएको छ । नगरपालिकाको सामाजिक विकास संयोजक यमुना
नेपालीले सो अभियानको पुनः थालनी गरेकी हुन् । २०७४ सालमा सो अभियान थालिएपनि अहिले परिमार्जन गरेर पुनः सुरु गरिएको छ । व्यक्ति स्वस्थ भए
पछि मात्रै देश स्वस्थ हुने मूल उद्देश्यले यो अभियान थालिएको संयोजक नेपालीले बताइन् ।
नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक उदय थापाले अघिल्लो बर्ष पाँच बुँदामा अभियान थालिएकोमा यसबर्ष तीन वटा थप गरी आठ वटा बुँदा राखेर पुनः अभियान थालिएको जानकारी दिए । म धुम्रपान गर्दिन, म मद्यपान गर्दिन, म शारीरिक व्यायाम गर्छु, सन्तुलित भोजन गर्छु, घरआँगन सफा
राख्छुलगायतका आठ वटा बुँदा सो अभियानमा राखिएको छ । एक बर्षे अभियानमा उच्च प्राथमिकतामा रोगहरुको पहिचान गर्ने, विद्यालय तहमा नसर्ने ठूला रोगहरुका विभिन्न शिविरहरु चलाउनेजस्ता जनचेतनामूलक कार्यक्रमलाई व्यापकता दिइने संयोजक थापाले बताए । सन् २०२५ भित्र नसर्ने रोगको
जोखिम २५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
यसैगरी स्थानीय सरोकारवालाहरुले वडअध्यक्षहरुलाई बसपार्क, विद्यालयको हातालगायतका अति महत्वपूर्ण क्षेत्रभित्र धुम्रपान, मद्यपान निषेधित क्षेत्र कडाईका
लागि लागू गर्न सुझाव दिएका छन् । वडाअध्यक्षहरुले नै अगुवाई गरी विद्यालय, बसपार्कजस्ता महत्वपूर्ण सार्वजनिक स्थानहरुमा धुम्रपान र मद्यपान गर्नेलाई
कारबाही गर्न सके नियन्त्रण गर्न सकिने उनीहरुको सुझाव छ ।
प्रकाशित मिति: २६ बैशाख २०७६, बिहीबार १८:२१