काठमाडौ । राष्ट्रियसभाका सांसदले आवश्यक बजेट र चिकित्सकको व्यवस्था गरी राप्ती अस्पताल सञ्चालनमा ल्याउन माग गरे ।
राष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद अनिता देवकोटाले रुकुम, रोल्पा, सल्यान, दाङलगायत जिल्लाका जनताको उपचार हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि आवश्यक बजेट माग गरे ।
सांसद कोमल ओलीले चिकित्सक र बजेटको अभावमा राप्ती अस्पताल सञ्चालनमा समस्या देखिएको बताउँदै त्यहाँका जनताको उपचार गर्ने वातावरण तत्काल बनाइनुपर्नेमा जोड दिइन् ।
सांसद कविता बोगटीले हुम्ला जिल्लाका साथै कर्णाली प्रदेशमा कर्मचारी अभावले जनताको दैनिक काममा अवरोध भइरहेको उल्लेख गर्दै आवश्यक कर्मचारी तत्काल व्यवस्था गर्न माग गरीन् ।
सांसद खिमकुमार विश्वकर्माले समाजमा पिछडिएर रहेको दलितको बारेमा गृहमन्त्रीले दिएको आश्वासन पूरा नभएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयमा दलितको मुद्दा हेर्ने कक्षको व्यवस्था गर्न माग गरे ।
सांसद चक्रप्रसाद स्नेहीले फूलचोकी मिडियाले अश्लिल सामग्री प्रकाशन गरेर बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पारेकाले त्यसलाई खारेज गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद ठगेन्द्रप्रकाश पुरीले शिक्षामा देखिएको बेथिति र चर्को शुल्क कम गराउनुपर्ने बताए । सांसद तारादेवी भट्टले महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु के के विषयको हो, त्यो सार्वजनिक गरी फछ्र्योट गराउन माग गरीन् ।
तीन विधेयक पेश
राष्ट्रिय सभाको आजको बैठकमा “सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५” पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सो विधेयक पेश गरेका हुन् ।
त्यसैगरी मन्त्री पोखरेलले “शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” पेश गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५” सभा समक्ष पेश गरे। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख २७ गते १ बजे बस्नेछ ।
प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार १८:१८