सुर्खेत । लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ । प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि समेत आर्मीले नै जितेको थियो ।
सुर्खेतको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । जितसंगै आर्मीले ५ लाख रुपैयाँ हात पार्यो भने न्यु होराइजनले २ लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु होराइजनका कप्तान समेत रहेका शक्ति गौचन घोषित भए जसले ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट ब्याट्सम्यान
कर्णाली-११ का रबिन्द्र जंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारि घोषित भए । दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
खेलमा टस जितेर ब्याटिंग रोजेको आर्मीले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो । आर्मीको लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भिम सार्कीले अविजित २१ रन बनाए । न्यु होराइजनका बलर विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादबले समान १/१ विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । होराइजनलाई रोक्न आर्मीका बलर जितेन्द्र
मुखिया र शाहब आलमले ३/३ विकेट तथा सुसन भारिले २ विकेट लिए । होराइजनको लागि बिशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान
दिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच हरि बहादुर चौहान चुनिए ।
कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता बैशाख १२ देखि सुरु भएको थियो जसमा कुल ८ टोलि सहभागी रहेका थिए ।
प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार १७:४२