सुर्खेत । कर्णाली प्रदेश सरकारले सहिद प्रतिष्ठान र गेटहरु निर्माणका योजना बनाएर बजेट समेत विनियोजन गरेको छ । खानेपानी र स्वास्थ्य सेवा गाउँ गाउँमा पुर्याउनु पर्ने बेला बिभिन्न पार्टीका सहिदको नाममा करोडौ रकम खर्च गर्दै आएको छ ।
कर्णाली प्रदेशका बिभिन्न जिल्लामा सहिदका नाममा भवन पार्क र गेट बनाउन यो बर्ष मात्र सरकारले ४ करोड भन्दा बढी रुपैया खर्च गर्ने भएको छ । थरी–थरीका सहिद प्रतिष्ठान निर्माण गर्ने भन्दै बनाएको योजना अन्तर्गत एउटा सहिदका नाममा दश लाख देखि ४० लाखसम्म बजेट छुट्याएको छ । सशस्त्र बिद्रोह, जन आन्दोलन र प्रदेश राजधानीका लागि भएका आन्दोलनमा ज्यान गुमाउनेको नाममा यो बर्ष मात्र ४ करोड रुपैया खर्च गर्ने योजना बनाएकै बेला सहिद परिवारको अवस्था भने दयनिय छ ।
सहिद परिवार सञ्जुसिंह रजवारले सहिद परिवारका लागि केही गर्छौ भनी आश्वासन दिलाउने धेरै नेताहरु आएपनि अहिलेसम्म कोही कसैले केही नगरेको दुखेसो पोखे । उनले भने ‘सहिद परिवारलाई केही गर्छौ भन्ने धेरै आए तर बोलीमा मात्रै सिमित भयो, त्यतिबेला भाषण गर्ने नेताहरुको अहिलेसम्म अनुहार पनि देख्न पाएका छैनौ ।’ उनले सहिद परिवारको राज्यले मुल्यांकन गर्न नसकेको गुनासो गरे । उनले भने, ‘सहिद परिवारका लागि रकम मात्रै दिइएको थियो तर त्यहाँदेखि कोही हेर्न समेत आएको छैन ।’ उनले थपे, ‘राज्यले गाँस, बाँस र कपासको व्यवस्था गर्नुपर्छ, तर अहिले सरकारले सहिद परिवारको वास्ता गर्न छोडेको छ ।’
सहिद परिवार दुर्गादेवि गौतमले सहिद परिवारका लागि १० लाख मात्रै दिएर सान्त्वना दिन खोजिएको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म १० लाख मात्रै दिएर सान्त्वना दिन खोजे त्यसपछि सहिद परिवार कहाँ के गर्दैछ भनि सोधखोज गर्न कोही आएनन् ।’ उनले सहिद प्रतिष्ठानका लागि आएको रकम बारे आफुलाई केही थाहा नभएको बताइन् । उनले भनिन्, ‘सहिद परिवारलाई कम्तिमा पनि शिक्ष्ाँ, रोजगारको व्यवस्था भएको भएपनि मेरा छोराहरु बेरोजगार भएर बस्ने थिएनन् नी, सहिद परिवारप्रति केन्द्र सरकारको ध्यान नगएपनि प्रदेश सरकारले त केही गर्न सक्छ नी ।’
सुर्खेतमा सहिद पार्क निमार्णका लागि ३० लाख बजेट विनियोजन भएको छ । प्रतिष्ठान बनाउँदा सहिद परिवारलाई कुनै राहत पुग्दैन । यो तत्थ्य सरकारले पनि स्वीकारेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री नन्दसिंह बुढाले सहिदहरुको सम्मान र सम्झना स्वरुप प्रतिष्ठान गराउनका लागि बजेट विनियोजन गरिएको बताए । उनका अनुसार प्रदेश सहिद पार्क बनाउनका लागि टेण्डर पक्रिया भइरहेको बताए । उनले आगामी वर्षमा सहिद परिवारका लागि गाँस, बाँस, कपासको व्यवस्था गर्न सकिने नीति तथा कार्यक्रम ल्याइने बताए । मन्त्री बुढाले भने, ‘सहिद पार्क र प्रतिष्ठान बनाउँदा सहिद परिवारले प्रदेश सरकारले सम्मान स्वरुप सहिद पार्क, प्रतिष्ठान बनाए भनेर सम्झन सक्छन ।’
सहिदका नाममा कक्रिटका भवन बनाउँदा सहिद परिवारलाई कुनै राहत नपुग्ने राजनीतिक बिश्लेषक अर्जुन अएडी बताउँछन् । उनका अनुसार सहिद प्रतिष्ठान र सहिद पार्क बनाउँदा नत शिक्षा र रोजगारी पाउँछन् नत उनीहरुको सपाना साकार नै हुन्छन् । उनले भवन निर्माण भन्दा पनि सहिदका परिवारलाई शिक्षा र रोजगारीको अवसर दिने तिर सरकारले ध्यान दिन सके उनीहरुले राहत महसुस गर्ने बताउँछन् ।
प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार १६:५१