काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गरेका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको संघका पदाधिकारीहरूसँग प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उनले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताए ।
वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चिततासमेत गरिएको जानकारी दिँदै उनले निजी क्षेत्रलाई देशको औद्योगिक उन्नयनमा लाग्न सदैव प्रेरित गरिएको बताए । प्रधानमन्त्रीले भने, “ निजी क्षेत्रलाई हरतरहले सघाइरहेका छौँ, सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्दै उद्यमी व्यवसायीका समस्या समाधान गरिरहेको छ”
समग्र दक्षिण एशियाको समृद्धिका निम्ति अहिले उपयुक्त समय भएको तथा यहाँको उर्वर भूमि, खनिज र खानीयुक्त क्षेत्र तथा ऊर्जाशील युवा जनसङ्ख्याले समृद्धितर्फको यात्रामा फड्को मार्न सहज हुने धारणा व्यक्त गरे । साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि दक्षिण एशियाली देशबीच सहकार्य र साझेदारी हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।
वर्तमान सरकारले सुशासन र विकासलाई उच्च महत्व दिएको जानकारी दिँदै उनले राजनीतिक अस्थिरता र अशान्ति समृद्धिको बाधक भएकाले त्यस्ता बाधा व्यवधान चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
संघका अध्यक्ष रुवान इदरिसंघेले दक्षिण एशियाली राष्ट्रहरूबीच आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि सङ्घ क्रियाशील रहेको बताए ।
प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार २०:०९