सुर्खेत । आयोजक कर्णाली-११ लाई पराजित गर्दै न्यु होराइजन बुटवल वाईवाई कर्णाली प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ ।
सुर्खेत स्थित कालिन्चोक मैदानमा शुक्रबार विहान सम्पन्न खेलमा शक्ति गौचन कप्तानीको होराइजन ३ विकेटले विजयी भएको हो । शुक्रबार भएको वर्ष र हावाहुरीको कारण १३ ओभर प्रति/इनिंगमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली-११ ले ४ विकेट गुमाएर ६२ रनको योगफल तयार गरेको थियो ।
कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए । पहिलो ३ विकेट १७ रनमा गुमेपछि कार्कीले अन्तिममा आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। होराइजनका बलर शक्ति गौचनले २ विकेट लिए ।
६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर भेट्यो । जितमा शुबेन्दुपाण्डेले १८, निश्चल चौधरीले १०, बिशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए ।
किशोर महतोले कर्णाली-११ को लागि ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिए पनि स्थानीय टिमलाई जित दिलाउन सकेनन् । खेलको प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए ।
कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: २० बैशाख २०७६, शुक्रबार १७:०५