काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सपथ ग्रहण कार्यक्रममा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले पार्टीमा
अनुशासन नभएसम्म निर्वाचन जित्न नसक्ने बताए । “निर्वाचनको बेला टिकट पाउनेलाई सहयोग गरौँ, निर्वाचन जिताउन लागौँ”, उनले भने ।
सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा हार्ने व्यक्तिले जित्ने व्यक्तिलाई असहयोग गर्दा पार्टी कमजोर बन्दै गएको बताए । “एक अर्कालाई सहयोग नगरेसम्म पार्टी बलियो हुन सक्दैन”, उनले भने । उनले कांग्रेस समावेशी पार्टी भएकाले यसलाई बलियो बनाउनका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले कांग्र्रेसको विधान अरु पार्टीको भन्दा उत्कृष्ट
भएकाले यसलाई आम जनतामाझ लैजानुपर्ने बताए । संयोजक निधिले प्रतिष्ठानले पार्टीको नीति बनाउने कुरा, अनुसन्धान गर्ने र प्रशिक्षण दिने
बारेमा काम गर्ने उल्लेख गरे । “प्रदेशस्तरमा समेत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान लैजान्छौँ”, उनले भने । उनले पार्टीको यही वैशाख २५ गतेदेखि शुरु हुन लागेको ‘हिमाल, पहाड तराई–मधेस जागरण अभियानलाई सहयोग गर्न प्रतिष्ठानका सदस्यको महत्वपूर्ण भूमिका रहेको बताए ।
कांग्रेसको प्रशिक्षण प्रतिष्ठान ५१ सदस्सीय कार्यसमिति भए पनि आज ४५ सदस्यले सपथ ग्रहण गरेका थिए । आगामी निर्वाचनमा कांग्रेसलाई विजयी
बनाउनका लागि प्रतिष्ठानले काम गर्ने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।
प्रकाशित मिति: १९ बैशाख २०७६, बिहीबार २०:३४