सुर्खेत । श्रम, सीप र पसिना बगाउने श्रमिकका हक अधिकारहरु कागजमा मात्रै सिमित रहेको बताउँदैै श्रमिकहरुको उचित मुल्यांकनका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् ।
श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै श्रमिकहरुको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएकाले सरकारले यसमा गम्भिर भएर सोच्नुपर्ने उनिहरुको भनाई छ ।
‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हामो अभियान’ प्रमुख नाराकासाथ १३० औँ अन्तराष्ट्रिय मे दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसद्वारा आज यहाँ आयोजित समारोहमा वक्ताले सो धारणा राखेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले टेड्र युनियन बलियो भएमात्र काँग्रेस बलियो हुने दाबी गरेका छन् । उनले श्रमिकको हक अधिकारको लागि लड्ने पाटी काँग्रेस मात्र भएको ठोकुवा गर्दै अहिलेको सरकार श्रमिकको हित विपरित कार्यमा लागेको आरोप लगाए । नेता थानिले काँग्रेसका भातृ संगठनहरुलाई सक्रिय भएर लाग्न सुझाव दिदैँ विगतका दिनमा भन्दा आगामी दिनमा श्रमिकहरुलाई थप चुनौती रहेको भन्दै जस्तो सुकै चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गरे ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारले श्रमिकलाई दमन गर्ने कार्यमा लागि परेको भन्दै श्रमिकहरु एकजुट भएर अघि बढ्ने बेला आएको बताइन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी संग्रौलाले सबैको श्रमिकको अधिकार सुनिश्चत गर्ने पाटी काँग्रेसमात्र भएको भन्दै ट्रेड युनियनको अधिकारको लागि संसदमा कुरा उठाएको जनाइन् ।
प्रदेशसभा सांसद अमृता शाहीले न्यूनतम ज्याला पाउन नसक्ने श्रमिकको पारिवारिक अवस्थालाई ध्यानमा राखेर पनि सरकारले श्रमिक ऐनलाई कार्यान्वयन गराउनतर्फ केन्द्रित रहनुपर्ने धारणा राखीन् । नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले श्रमिकको हक अधिकार प्राप्तिको लागि वर्तमान सरकार गम्भिर बन्न नसकेको आरोप लगाए । उनले श्रमिकहरुको अवस्था जटिल गएको बताउँदै काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे ।
टेड्र युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष अजयकुमार राइले टेड्र युनियन कमजोर नरहेको स्पस्ट पार्दै सबै एकजुट भएर अघि बढ्नुपर्ने आबश्यकता रहेको बताए । उनले सरकार गठन भएको एकबर्ष पुरा हुदाँ समेत सरकारले श्रमिकको पक्षमा कुनै काम नगरी अन्य काममा अल्झिएको आरोप लगाए ।
पुर्व पाटी सभापती एवम पुर्व राज्यमन्त्री तप्तबहादुर बिष्टले नेपालको इतिहासमा मजदुर आन्दोलनको विशेष महत्व रहेको भन्दै श्रमजिविको पक्षमा आवाज उठाउन सबै संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक विकासको लागि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक महासंघका उपाध्यक्ष तिर्थजंग शाही, नेपाल टेड्र युनियनका केन्द्रिय सदस्य जयबहादुर बिसी लगायतले श्रमिकको हक अधिकारकालागि सबै एकजुट हुन आवश्यक जनाए ।
प्रकाशित मिति: १८ बैशाख २०७६, बुधबार १७:०७