सुर्खेत । वीरेन्द्रनगरका विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि छात्राहरु नियमित कक्षा कोठामा उपस्थित हुन थालेका छन् ।
महिनावारी भएका बेला छात्राहरु विद्यालय आउन नसक्दा उनीहरुको पढाइ प्रभावित बनेपछि सेनेटरी प्याडको व्यवस्था गरिएको हो । विद्यालयमा सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई महिनावारी भएको अवस्थामा पनि पढ्नका लागि सजिलो भएको छ ।
विद्यालयमा सेनेटरी प्याड राखिएपछि रजस्वला हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको वीरेन्द्रनगर वडा नं. १३ नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालयकी छात्रा सोनु विकले बताइन् । ‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो ’ विकले भनिन, ‘अहिले छात्रालाई धेरै सजिलो भएको छ ।’ उनले सेनेटरी प्याडको व्यवस्था भएपछि नियमित विद्यालयमा उपस्थित हुने गरेको बताउँछिन् । विद्यालयमा कक्षा छोड्नुपर्ने समस्या हटेपछि पढाइ पनि राम्रो हुन थालेको उनको भनाई छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ शिव माध्यमिक विद्यालयकी छात्रा एलिना शाहीलाई पनि पहिला महिनावारी हुँदा विद्यालय जान मनै लाग्दैनथ्यो । उनी भन्छिन ‘स्कुलमा प्याड पाइदैनथ्यो त्यही भएरपनि स्कुल नै जान मन लाग्दैनथ्यो । उनी थप्छिन तर अहिले प्याडको व्यवस्था भएकाले सधै स्कुल जाने गरेकी छु ।’ एलीना मात्रै नभएर विद्यालयमा सेनेटरी प्याड उपलव्ध हुन थालेपछि उनी लगायत उनका साथिहरु निरन्तर विद्यालय जाने गरेका छन् ।
महिनावारी भएकै बेला हुने पिडालाई कम गर्नका लागि विद्यालयमा प्राथामिक स्वाथ्यको व्यवस्थाका साथै शौचालयमा प्रयाप्त पानीको व्यवस्था समेत गरिएका छन् ।
नेपाल राष्ट्रिय माध्यामिक विद्यालयकी शिक्षिका सीता उपाध्यायले विद्यालयले गरेका यस्ता व्यवस्थाबाट छात्राहरुको कक्षामा नियमित उपस्थित बढेको बताउँछिन । उनले पहिलको अवस्थामा विद्यालयमा महिनावारी भएकै कारणले धेरै छात्राहरु विद्यालय नआउने गरेको बताइन् । कतिपय विद्यालय आएपनि बिचमै पढाई छोडेर जाने गरेको उनकाे भनाई छ । उनले भनिन ‘पहिले हामीसंग प्याडको व्यवस्था नहुँदा महिनावारी भएका कतिपय छात्राहरु स्कुलमै आउदैनथे भने कतिपय छात्राहरु बिचमै पढाई छोडेर जाने गरेको अवस्था थियो । उनले थपिन तर अहिले हामीले प्याडको व्यवस्था गरेसंगै छात्राहरुको उपस्थिती धेरै र नियमित हुन थालेको छ ।’
वीरेन्द्रनगरमा रहेका कतिपय विद्यालयले आफै सेनेटरी प्याडको व्यवस्थापन गरेका छन् भने कतिपय विद्यालयका विद्यार्थी आफैले खाजा खाने पैसा बचाएर प्याडको व्यवस्थापन गरेका छन् ।
प्रकाशित मिति: १७ बैशाख २०७६, मंगलवार १५:१०