सुर्खेत । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेश पर्यटन स्थलका लागि उपयुक्त र सम्भावना बोकेको प्रदेश भएपनि प्रचारप्रसार नभएकाले ओझेलमा परेको बताएका छन् । वीरेन्द्रनगरमा मंगलबार लुम्बिनी भ्रमण वर्ष २०७६ पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री बुढाले सो कुरा व्यक्त गरेका हुन् ।
मन्त्री बुढाले कर्णालीको राजधानी वीरेन्द्रनगरको चर्चित पर्यटकिय स्थल कांक्रेविहारलाई प्रदेश ५ को लुम्बिनी जस्तै बनाउनका लागि तिव्र रुपमा निर्माण गरिरहेको जनाए । उनले भने ‘कर्णालीका पर्यटकिय स्थलहरु प्रचार नभएकै कारण ओझेलमा परेका छन् । उनले थपे त्यसका लागि मन्त्रालयमा व्यापक छलफल गरेर कर्णालीका पर्यटन स्थलहरुलाई पहिचान गर्ने छौ र व्यापक प्रचारप्रसार गर्ने छौ । कर्णालीमा लक्ष्य अनुसारको प्रचार नगरिएको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तता दिएर लक्ष्यअनुसारका पर्यकट भित्र्याउनेमन्त्री बुढाले जनाए ।
मन्त्री बुढाले कर्णाली प्रदेश सरकारले आगामी दिनमा कर्णालीका पर्यटन क्षेत्रहरुलाई लुम्बिनीमा गएर प्रर्दशन गरिने गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले लुम्बिनीमा आउने पर्यटकलाई कांक्रेविहारमा जोड्नका लागि गुरुयोजना भित्र गएर काम गरिने जनाए । मन्त्री बुढाले भने ‘अहिले पर्यटन विभागले गुरुयोजना बनाइरहेको छ, त्यसकै आधारमा रारामा पर्यटकहरुलाई खाना, बस्नको व्यवस्था सहज गराउने छौ ।’
कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष कार्यक्रम २०७६ प्रचार प्रसार उप समितिका संयोजक प्रदिप आचार्यले लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचार प्रसारका लागि कर्णाली प्रदेश आएको बताउँदै लुम्बिनीमा बुद्ध जयन्तीका अवसरमा बुद्ध जयन्ती मनाएर भव्य कार्यक्रम गर्ने योजना रहेको बताए । उनले लुम्बिनीमा लक्ष्य अनुसारका पर्यटक भित्र्याउनका लािग व्यापक प्रचार प्रसारमा लागि परेको जनाए ।
संयोजक आचार्यले लुम्बिनी भ्रमण वर्ष २०७६ का लागि कर्णाली सरकारको महत्वपुर्ण भुमिका हुनेमा आशा व्यक्त गरे । उनले लुम्बिनीमा गतवर्ष आन्तरिक र बाह्य पर्यटक १७ लाख भित्र्याउन सफल भएको बताउँदै यो लुम्बिनी भ्रमण वर्षमा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर व्यापक प्रचार प्रसार गरिरहेको बताए । उनले भने ‘अबको ५÷६ महिनामा लुम्बिनी विमानस्थल सञ्चालन हुँदैछ, त्यसपछि पर्यटकको ओइरो लाग्ने हाम्रो आशा छ ।’ उनका अनुसार लुम्बिनी भ्रमण वर्षमा मायादेवी प्रसुती उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सड्क प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दिप प्रज्वलन लगाएतका कार्यक्रम गरिनेछन् ।
प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार २०:३७